राम बहादुर विश्वकर्मा
प्युठान,प्युठान जिल्लामा सौहार्दपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रशासन दृढ रहेको प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंले बताउनुभएको छ। जिल्ला प्रशासन कार्यालय प्युठानको सभाहलमा आयोजित सर्वदलीय तथा पत्रकारसहितको संयुक्त छलफल कार्यक्रममा उहाँले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो।
उहाँका अनुसार निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन आचारसंहिताको कडाइका साथ पालना गराइनेछ। कुनै पनि प्रकारको अवाञ्छित गतिविधि, मतदातालाई प्रभाव पार्ने प्रयास, आर्थिक प्रलोभन वा सामाजिक सद्भाव खल्बल्याउने काम सह्य नहुने स्पष्ट पारिएको छ। शान्ति–सुरक्षालाई ध्यानमा राख्दै मतदान केन्द्रहरूमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने, संवेदनशील तथा अतिसंवेदनशील केन्द्रहरूमा विशेष निगरानी व्यवस्था मिलाइने र आवश्यक समन्वय संयन्त्र सक्रिय राखिने जनाइएको छ।
जिल्लामा २३० वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र कायम गरिएका छन्। तीमध्ये ७३ वटा मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको छ। ती केन्द्रहरूमा थप सुरक्षाकर्मी परिचालन, नियमित गस्ती तथा सूचनाको विशेष अनुगमन गरिनेछ।
फागुन २० गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ। उक्त अवधिमा सभा,जुलुस,घरदैलो,प्रचार सामग्री वितरण तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार पूर्ण रूपमा निषेध गरिनेछ। आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिमाथि तत्काल कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ।
फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। साँझ ५ बजेसम्म मतदान केन्द्र परिसरमा प्रवेश गरिसकेका मतदाताले आफ्नो पालो अनुसार मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ। मतदान केन्द्रमा कर्मचारी,स्वयंसेवक तथा पर्यवेक्षक परिचालन गरिनेछ भने मतपेटिका सुरक्षित ढुवानीका लागि विशेष प्रबन्ध मिलाइने बताइएको छ।
निर्वाचनको दिन प्रत्येक उम्मेदवारले एक सवारी साधन मात्र प्रयोग गर्न पाउनेछन्। सो सवारी साधनमा निर्वाचन चिह्न वा प्रचार सामग्री प्रयोग गर्न पाइने छैन। विद्युत, दूरसञ्चार,स्वास्थ्य सेवा,एम्बुलेन्स,दमकल, खानेपानी तथा सुरक्षा निकायका सवारी साधन भने सञ्चालनमा रहनेछन्।
प्रशासनले मतदातालाई वैध परिचयपत्र साथमा लिएर समयमै मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ। साथै अफवाह नफैलाउन,सामाजिक सद्भाव कायम राख्न र शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग गर्न सबै पक्षलाई अपिल गरिएको छ।
यसै क्रममा मुख्य निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीले निर्वाचन कार्यालयले आवश्यक जनशक्ति परिचालन,मतदान अधिकृत तथा कर्मचारीको तालिम र मतदान सामग्रीको वर्गीकरण तथा वितरण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
उहाँका अनुसार प्रत्येक मतदान केन्द्रमा आवश्यक मतपेटिका,मतपत्र,छाप लगायतका सामग्री समयमै पुर्याउने व्यवस्था मिलाइएको छ। केन्द्रबाट थप विशेष सामग्री नआए पनि नियमित प्रक्रियाअनुसार प्राप्त सामग्री पर्याप्त रहेको उहाँले स्पष्ट पार्नुभयो।
कम बजेटको अवस्थामा समेत पारदर्शिता,मितव्ययिता र जिम्मेवार खर्च व्यवस्थापनलाई प्राथमिकतामा राखिएको उहाँको भनाई थियो।“उपलब्ध स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै निर्वाचन सफल बनाउने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो।
प्रतिक्रिया राख्नुहोस्