प्युठानमा सूर्य थापाको दाबी–जित सुनिश्चित,मतान्तर घोषणा मात्र बाँकी

प्युठानमा सूर्य थापाको दाबी–जित सुनिश्चित,मतान्तर घोषणा मात्र बाँकी

प्युठान,नेकपा एमालेका उम्मेद्बार सूर्य थापाले आफू चुनावमा जित सुनिश्चित भइसकेको दाबी गर्दै अब मतान्तर मात्र सार्वजनिक हुन बाँकी रहेको बताएका छन्। 
बुधबार झिमरुक गाउँपालिका १ सौतामारेमा आयोजित झण्डा,ब्यानर र नाराले सजिएको चौरमा स्थानीयको उल्लेख्य उपस्थितिबीच सभामा बोल्दै सूर्य थापाले आत्मविश्वासपूर्ण स्वरमा घोषणा गरे-“हामी जितिसकेका छौँ,अब मतान्तरको औपचारिक घोषणा मात्र बाँकी छ।”
उनको भनाइमा गृह क्षेत्रका सम्पूर्ण मतदाताले दिएको मतले नै अन्तिम अन्तर निर्धारण गर्नेछ। सौतामारे आफ्नो जन्मभूमि भएकाले यहाँका मतदाताबाट समर्थन पाउनु स्वाभाविक अधिकार भएको उनले जिकिर गरे।२०७९ सालको निर्वाचन स्मरण गर्दै उनले त्यसबेला पनि यस क्षेत्रबाट शतप्रतिशत मत प्राप्त गरेको दाबी गरे र यसपटक पनि उस्तै परिणाम आउनेमा आफू ढुक्क रहेको बताए।
सभामा उनले मतदातालाई “भोट खेर नफाल्न” आग्रह गर्दै विगत कार्यकालमा भएका विकास निर्माणका कामहरूको सूची प्रस्तुत गरे।सडक स्तरोन्नति,खानेपानी विस्तार,विद्यालय भवन निर्माण र स्वास्थ्य चौकी सुधार जस्ता परियोजनाहरू सम्पन्न भइसकेको तथा केही कामहरू कार्यान्वयनकै चरणमा रहेको उनको दाबी थियो।
स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मको उपस्थितिबीच उनले आगामी प्राथमिकताबारे पनि धारणा राखे-कृषिको आधुनिकीकरण,युवा स्वरोजगार,साना पूर्वाधारको विस्तार र दुर्गम बस्तीमा सेवा पहुँच वृद्धि।“अपुरा काम पूरा गर्न र सुरु भएका योजनालाई पूर्णता दिनकै लागि मेरो उम्मेदवारी हो,”उनले स्पष्ट पारे।
सभास्थलमा समर्थकहरूको नाराबाजी र तालीबीच थापाले पुनः एकपटक जनताको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति भएको दोहोर्याए।चुनावी माहोल तातेका बेला उनको यो आत्मविश्वासपूर्ण अभिव्यक्ति स्थानीय राजनीतिक बहसको केन्द्रमा आएको छ।