प्यूठान,निर्वाचन आचारसंहिता २०८२ ले संघीय तथा प्रदेश सरकारमा कार्यरत मन्त्री,जनप्रतिनिधि र सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई आफ्नो पद र स्रोत प्रयोग गरी चुनावी प्रचार गर्न रोक लगाएको छ। तर प्यूठानमा भने यसका सीमा र नियमको स्पष्ट उल्लंघन भएको देखिन्छ।
लुम्बिनी प्रदेश सरकारका खानेपानी तथा शहरी विकास मन्त्री सरोज थापा(रोज राणा)आफ्नो निर्वाचन क्षेत्र प्यूठानमा खुला रूपमा प्रचारमा देखिएका छन्। उनी नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रा.डा.गोविन्दराज पोख्रेलको पक्षमा मत माग्दै विभिन्न सभा र कार्यक्रममा सक्रिय भएका छन्।
स्थानीय स्रोतहरूका अनुसार मन्त्री थापाले प्रदेश सरकारमार्फत सम्पन्न भएका विकास योजनाहरूलाई आफ्नो पार्टीको उपलब्धि जस्तै प्रस्तुत गर्दै चुनावी प्रचारमा प्रयोग गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरूले पनि उनीसँगै लुम्बिनी प्रदेश सांसद निमा गिरी र गाउँपालिकाका अध्यक्षहरू पनि चुनावी कार्यक्रममा सहभागी भएको देखिएको छ।
यस घटनाले प्यूठानमा निर्वाचन आचारसंहिताको कार्यान्वयन र सरकारी पदमा रहेका व्यक्तिहरूको भूमिकामाथि प्रश्न उठाएको छ।आचारसंहिताको पालना सुनिश्चित गर्ने जिम्मेवारी भए पनि सम्बन्धित निकायहरूमा देखिने निष्क्रियता र उल्लंघनका दृश्यहरूले निर्वाचनको निष्पक्षतामाथि व्यापक चासो पैदा गरेका छन्।
प्रतिक्रिया राख्नुहोस्