प्यूठान,बाल्यकालमै बुवाको निधन भएपछि झिमरुक गाउँपालिका–७, कुताका १३ वर्षीय सजन र ११ वर्षीया सजना सुवेदीको जीवन एकाएक कठिन मोडमा पुग्यो। घरको आर्थिक आधार गुमेपछि दाजुबहिनीको पढाइ र भविष्य अन्योलमा परेको थियो।
तर संकटको त्यो घडीमा समुदायको साथ र मानवीय संवेदनशीलताले आशाको दीप बाल्यो। गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल को पहलमा देश–विदेशमा रहेका दाताहरूले ३ लाख ८७ हजार रुपैयाँ संकलन गरी परिवारको खातामा जम्मा गरिदिएका छन्।
संकलित रकम अहिले स्वर्गीय शिबलाल जैसीकी श्रीमती रिमा जैसीको खातामा सुरक्षित राखिएको छ। पछि यो रकम छोरा सजनको खातामा स्थानान्तरण गरिने योजना छ,ताकि दाजुबहिनीको शिक्षा र भविष्य सुनिश्चित होस्।
हाल सजन कक्षा ७ र सजना कक्षा ६ मा गाउँकै विद्यालयमा अध्ययनरत छन्। आर्थिक संकटका कारण पढाइ रोकिने चिन्ता बढिरहेको बेला आएको सहयोगले उनीहरूको मनोबल थप बलियो बनाएको छ।
उपाध्यक्ष पोख्रेलले १३ औँ दिनको खर्च र आवश्यक शैक्षिक सामग्रीसमेत व्यक्तिगत रूपमा उपलब्ध गराइसकेका छन्। उनी भन्छन् “दाजुबहिनीको भविष्य सुनिश्चित गर्न ठोस निर्णय गर्छौं, विचल्लीमा पर्न दिँदैनौं।”
यो सहयोग केवल रकमको संकलन मात्र होइन,सामाजिक उत्तरदायित्व र सामूहिक एकताको उदाहरण पनि हो। एक परिवारको पीडामा समुदायले साथ दिँदा, दुःख हलुका मात्र हुँदैन भोलिको सम्भावना पनि उज्यालो बन्छ।
सजन र सजना अहिले पनि गाउँकै सानो घरबाट ठूलो सपना देखिरहेका छन्। र यो सहयोगले ती सपनालाई पखेटा दिएको छ।
प्रतिक्रिया राख्नुहोस्