प्यूठानमा माघ महिनाको अपराध रिपोर्ट सार्वजनिक,आत्महत्या उच्च स्थानमा

प्यूठानमा माघ महिनाको अपराध रिपोर्ट सार्वजनिक,आत्महत्या उच्च स्थानमा

राम बहादुर बिश्वकर्मा 
प्यूठान,जिल्लामा माघ महिनाभरि २५ वटा अपराधका घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय प्यूठान ले सार्वजनिक गरेको कार्यप्रगति विवरणअनुसार विभिन्न प्रकृतिका घटना दर्ता भएका हुन्।
सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराई का अनुसार दर्ता भएका घटनामध्ये झुण्डिएर आत्महत्या गर्ने घटना सबैभन्दा बढी रहेको छ। विवरणअनुसार भवितव्य ज्यान सम्बन्धी २,फुटकर ज्यान ३,झुण्डिएर आत्महत्या ६, जबरजस्ती करणी १,सवारी ज्यान २,सवारी भवितव्य ज्यान १,बैंकिङ कसुर ३,अभद्र व्यवहार २, ज्यान मार्ने उद्योग १,हातहतियार तथा खरखजाना सम्बन्धी कसुर १, वेवारिसे ज्यान १ र कर्तव्य ज्यान २ गरी कुल २५ वटा घटना दर्ता भएका छन्।
आत्महत्या गर्नेमा १८ वर्षमुनिका १ जना,१८ देखि ३९ वर्ष उमेर समूहका २ जना, ४० देखि ५९ वर्ष समूहका १ जना तथा ६० वर्षमाथिका २ जना रहेका छन्।
माघ महिनामा कार्यालयमा ६५ वटा ठाडो उजुरी परेकोमा ४६ वटा फछ्र्यौट भएका छन् भने १९ वटा अझै बाँकी रहेका छन्।
त्यसैगरी सो अवधिमा ९ वटा सवारी दुर्घटना भएका छन्।दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
प्रहरीले सञ्चालन गरेको ३७० वटा चेकिङ कारबाहीबाट ४ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ।