सीता बि.क
प्युठान,विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा आज मंगलवार प्यूठान बिजुवारमा मानसिक स्वास्थ्य सम्वन्धी आत्महत्या रोकथाम अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र खलंगा प्युठानको सहयोग र जिल्ला स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।
जिल्ला समन्वय उप प्रमुख दुर्गा रेग्मिको अध्यक्षता समन्वय प्रमुख धर्म जि सि को प्रमुख आतिथ्यतामा संचालित कार्यक्रमको सहजीकरण बरिस्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले गरेका थिए।
सहजीकरण गर्दै जनस्वास्थ्य अधिकृत पाण्डेले पारिबारिक पृष्ठभूमी,आत्महत्या सम्बन्धि तथ्याङ्क विश्लेषण,आत्महत्याका प्रतिनिधि घटनाको मामला अध्ययन र विश्लेषण, आत्महत्या सम्बन्धि भ्रम र तथ्यहरु,आत्महत्या रोकथाममा देखिएका चुनौतीहरु रोकथामका उपायहरु बारेमा जानकारी गराएका थिए । आत्म हत्याको सख्या बर्षेनी बढ्दै गएको जिल्लाको तथ्याङकमा उल्लेख छ ।
उनले जिल्ला प्रहरी कार्यालय प्युठानको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७ देखि हालसम्म जिल्लामा आत्महत्याको तथ्यांक सार्बजनिक गरेका थिए।
उनका अनुसार २०७७ देखि अहिले सम्मको तथ्यांक अनुसार जिल्लामा आत्महत्या भएका २ सय ५० घटनाहरु मध्य ६५ वटा प्युठान नगरपालिकाका रहेका छन।
अधिकृत पाण्डेले विभिन्न कारणहरुले मानिसले आत्महत्याको निर्णय लिने गरेको बताएका छन् । शैक्षिक असफलता, पारिवारिक कलह, हीनता बोध, पारिवारिक दबाब,प्रेममा धोका,साथीभाइसँगको झगडा,मनमुटाव,अपराध पीडित, विवाह सम्बन्ध व्यापार व्यवसायमा घाटा,ऋण,गरिबी जस्ता कारणले आत्महत्याका घटना हुने बताए ।यस्तै सामाजिक अपमान तथा बहिष्कार,लागू औषध दुर्ब्यसन,मानसिक समस्या, आत्महत्याको पारिवारिक पृष्ठभूमी, घरेलु हिंसा, लैंगिक हिंसा जस्ता समस्याले आत्महत्या गर्न बाध्य हुने उनको भनाई छ।
मनोचिकित्सक डा: पंकज पाठकले सामान्य मानषिक तनावमा भए मनोपरामर्शले मात्रै ठिक हुनेर डिप्रेसनमा पुगेको भए मनोपरामर्श मात्र नभएर औषधि शेवन पनि गर्नु पर्ने बताए।उनले यसलाइ रोक्न गाउँ समाजको महत्त्वपूर्ण भुमिका रहने समेत बताए।
कार्यक्रममा उपस्थितिहरू बाट आ–आफ्नो बिचार प्रस्तुत गर्नुका साथै आत्महत्या न्युनिकरण सम्बन्धी जिज्ञासा राखेका थिए।उपस्थितहरूबाट आएको प्रश्नको जवाफ डाक्टर पाठकले दिएका थिए।
प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख धर्म जि सि ले आत्माहत्याका घटनाहरु न्युनिकरण गर्न विभिन्न सरकारी तथा गैरसरकारी संस्था लगायत स्थानीय सरकारले सचेतनामुलक कार्यक्रम सन्चालन गर्न आबश्यक रहेको बताए ।
त्यस्तै प्रहरी नायब उपरीक्षक इश्वर थापाले जिल्लामा भएका घटना दर्ता तथ्यांकलाई हेर्दा आत्महत्या घटना बढी दर्ता रेकर्डमा देखिएको भन्दै जिल्लामा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला स्थित सबै स्थानीय तहमा आत्महत्या घटना सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्ने योजना तय गरेको बताए।
कार्यक्रममा विभिन्न सरोकारवाला सहित जिल्लाका संचारकर्मीहरुको सहभागिता रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्