सूर्य थापाको जनसर्मथन उचाईमा : सरुमारानीका वडामा उत्साहको लहर

सूर्य थापाको जनसर्मथन उचाईमा : सरुमारानीका वडामा उत्साहको लहर

तेजेन्द्र बि.एम

प्युठान,प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सरुमारानी गाउँपालिकामा राजनीतिक माहोल दिनानुदिन तताउँदै गएको छ। नेकपा एमालेका उम्मेदवार सूर्य थापाको ६ वडामा भएको भव्य जनसमर्थनले गाउँपालिकामा राजनीतिक उत्साहको नयाँ लहर पैदा गरेको छ।
माघ १७ गते वडा नम्बर ४ बाट सुरु भएको जनसमर्थन यात्रा वडावडा र टोल–टोल पुग्दा १७ स्थानमा चुनावी भेटघाट सम्पन्न भयो। सूर्यध्वजाबाहक उम्मेदवार थापालाई मतदाताले पुष्पगुच्छा,अबिर र मालासहित स्वागत गर्दै आगामी निर्वाचनमा विजयीको शुभकामना दिएका थिए।
वडा ४ बाट सुरु भएको युवा र उत्साही यात्रा
गाउँपालिकाको केन्द्र वडा नम्बर ४ बाट सुरु भएको अभियानले स्थानीय मतदाताको उत्साह र सहभागिता झल्कायो।घरदैलो भेटघाट, कोणसभा र छलफलमा थापाले विकास,रोजगारी,शिक्षा,स्वास्थ्य र पूर्वाधारका स्पष्ट योजना प्रस्तुत गर्नुभयो। स्थानीय अगुवा,महिला समूह र युवाहरुले उनलाई अबिर–मालासहित “विकासका लागि अनुभवी नेतृत्व” भन्दै सम्मान गरे।

६ वडाका १७ स्थानमा भेटघाट,जनसमर्थनको प्रभाव

वडा नम्बर ४ बाट सुरु भएको उत्साह क्रमशः वडा ३,५,६,१,२ र ददेरीसम्म फैलियो। हरेक स्थानमा मतदाताले रातो टीका,पुष्पगुच्छा र मालासहित स्वागत गरेका थिए। उम्मेदवार थापाले कृषिको बजार, सडक, खानेपानी,पुल निर्माण,रोजगारी र नौमुरे जलविद्युत आयोजनाको कार्यान्वयन जस्ता विषयमा स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो। यसले मतदातामा विश्वास र भरोसा थप्यो।

संगठन र जनसम्पर्कको बल

नेकपा एमाले सरुमारानी गाउँपालिकामा संगठनात्मक रूपमा बलियो रहेको छ। वडा कमिटीदेखि टोलस्तरका सम्पूर्ण कार्यकर्ताले अभियानमा सक्रियता देखाएका छन्। युवाहरुले थापालाई “विकासप्रेमी,काममा विश्वास गर्ने,विपक्ष र प्रतिगामी विरुद्ध कडा प्रतिवाद गर्न सक्ने नेता”भन्दै समर्थन जनाएका छन्। महिलाहरुले शिक्षा र स्वास्थ्यमा थापाको योगदान स्मरण गर्दै निरन्तरता चाहेका छन्।

प्रतिस्पर्धीका लागि चुनौती

६ वडामा एकीकृत जनसमर्थनले प्रतिद्वन्द्वी उम्मेदवारलाई दबाबमा पारेको छ। हरेक वडामा व्यापक जनसहभागिता र भव्य स्वागतले चुनावी माहोललाई नै बदलिदिएको निर्वाचन परिचालन कमिटी सरुमारानी गाउँपालिकाका इन्चार्ज झग बहादुर बिश्वकर्मा बताउनुहुन्छ।
उहाँका अनुसार सरुमारानी गाउँपालिकाका सबै वडामा पुगेर चुनावी भेटघाट सम्पन्न गर्नुभएका सूर्य थापाको जनसमर्थन यात्राले स्थानीय मतदातामा उत्साह र विश्वासको बलियो सन्देश दिएको छ।

स्थानीय अपेक्षा र प्रतिबद्धता

सरुमारानीका मतदाताले थापासँग कृषि,पर्यटन,सडक,रोजगारी र सामाजिक सेवामा ठोस कामको अपेक्षा राखेका छन्। थापाले जनताको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति भने र “सरुमारानीका जनताको कहिले नडगमग गर्ने साथ,सहयोग र माया प्रति म सधैं नतमस्तक छु। निर्वाचन जितेपछि घोषणापत्र अनुसार काम अघि बढाउनेछु,” उहाँले भन्नुभयो।
थापाले प्रतिनिधि सभा सदस्य बनेपछि केवल सरुमारानी मात्र नभई समग्र प्युठानको आवाज संघीय संसदमा बुलन्द गर्ने र अधुरा काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसैबीच, विदेशी षड्यन्त्र र आन्तरिक चुनौतीविरुद्ध देशभक्ति र राष्ट्रिय स्वाभिमानको झण्डा उचो राख्ने उहाँको दृढ अठोट पनि मतदातासमक्ष स्पष्ट भएको छ।
मतदाताहरुले थापाको स्पष्ट दृष्टि र विकास केन्द्रित सोचको स्वागत गरेका छन्।
थापाको यात्रा र मतदातासँगको प्रत्यक्ष संवादले आगामी चुनावमा राजनीतिक उत्साह बढाएको छ र सरुमारानीका विकासका पहलहरुलाई अघि बढाउने दिशामा नयाँ आशा जगाएको छ।