प्युठान,नेकपा एमालेका उम्मेदवार सूर्य थापाले आफ्नो नेतृत्व र स्थानीय जनताको वास्तविक अवस्था बुझ्ने दृष्टिकोणलाई चुनावी अभियानको प्राथमिकता बनाएका छन्। उनले भने,“जेन्जी पनि म हुँ, युवा पनि म हुँ। जनता बीच भ्रम फैलाएर मतदाता पताउने अवस्था छैन।”
सरुमारानी गाउँपालिका वडा नम्बर- २ दर्भानमा आयोजित चुनावी सभामा थापाले मतदातासँग प्रत्यक्ष संवाद गर्दै जनताको व्यवहार,सम्बन्ध र समस्याबारे घरघरमा पुगेर जानकारी लिन आफू सधैं सक्रिय रहने कुरा बताए। उनका अनुसार नेता केवल भाषण दिने र प्रचारमा रमाउने होइन जनताको वास्तविक अवस्था बुझेर ठोस कदम चाल्नु नै प्रभावकारी नेतृत्व हो।
थापाले आफ्नो परिचयमा स्पष्ट पार्दै,उनी कुनै विदेशी लगानी वा बाहिरी दबाबमा आधारित व्यक्ति नभई जिल्लाको अर्गानिक नेता भएको र यहाँका जनताको आवश्यकता बुझ्ने क्षमता राख्ने नेता भएको बताए। उनले थपे,“हामी यहाँका जनताको दुःख,कहाँ मलमपट्टी लगाउनुपर्छ,कहाँ विकास चाहिन्छ,सबै कुरा बुझ्ने मान्छे हौं। लोकतन्त्र विरुद्ध कुनै सम्झौता नगर्ने मेरो अडान छ।”
स्थानीय मतदाताले पनि उनका कुरा उत्साहितपूर्वक सुने र थापाको निकट,विश्वसनीय र संवेदनशील नेता बन्ने क्षमताप्रति समर्थन जनाए।उनका अनुसार जनताको आवश्यकता बुझ्नु,प्रत्यक्ष संवाद गर्नु र समाधानतर्फ सक्रिय रहनु नै लोकतान्त्रिक नेतृत्वको आधार हो।
सूर्य थापाको यो दृष्टिकोणले मतदातामा स्थानीय जनताको जीवनसँग गहिरो सम्बन्ध राख्ने नेताको सन्देश प्रवाह गरेको छ। उनका अभियानले आगामी निर्वाचनमा स्थानीय नेतृत्व र विकासमुखी नेतृत्वको उदाहरण प्रस्तुत गर्ने विश्वास जगाएको छ।
प्रतिक्रिया राख्नुहोस्