महिला र दलितको आवाज संसदसम्म पुर्‍याउने लक्ष्य : सम्झना सी

प्यूठान,नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेकी सिता विक (सम्झना सी) ले महिला तथा दलित समुदायको राजनीतिक,सामाजिक र आर्थिक उत्थानका लागि आफ्नो उम्मेदवारी रहेको बताएकी छन्।
शुक्रबार प्यूठानको जुम्रीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार विकले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षा नभई महिला र दलित समुदायका लागि अवसर भएको स्पष्ट पारिन्। उनले राजनीतिमा पछाडि पारिँदै आएका वर्ग र समुदायलाई राज्यका निर्णय तहसम्म पुर्‍याउनु आफ्नो प्रमुख लक्ष्य रहेको बताइन्।
उनले आफूले सधैं जनताको पक्षमा संघर्ष गर्दै आएको उल्लेख गर्दै जनताको हितमा काम गर्नकै लागि चुनावी मैदानमा उत्रिएको बताइन्। “राजनीति केवल भाषण र वाचा गर्ने थलो होइन,” उनले भनिन्, “जनताले अनुभूति गर्ने खालका काम गर्नुपर्छ भन्ने मान्यतासहित हामी चुनावमा होमिएका हौं।”
पत्रकार भेटघाटका क्रममा उम्मेदवार विकले आफ्नो चुनावी प्रतिवद्धता पत्र पनि सार्वजनिक गरिन्। प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, महिला सशक्तिकरण, दलित अधिकार, सामाजिक न्याय र समावेशी विकासका विषयलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिइन्।
“प्रतिवद्धता पत्रमा धेरै गुलिया कुरा छैन,” उनले भनिन्, “हामीले गर्न सक्ने र गरिरहेका नमुना कामहरू मात्र समावेश गरेका छौं।”
आफ्नो उम्मेदवारी निष्ठा, त्याग, समर्पण र बलिदानको इतिहाससँग जोडिएको उल्लेख गर्दै उम्मेदवार विकले देश, जनता र परिवर्तनका लागि संघर्ष गरेका योद्धाहरूले जित्नुपर्ने धारणा व्यक्त गरिन्। उनले विगतका आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा र संस्थागत विकास अहिलेको आवश्यकता भएको बताइन्।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज बुलेट सीले पार्टीको चुनावी प्रतिवद्धता प्रस्तुत गर्दै माओवादी केन्द्र सधैं जनताको पक्षमा उभिँदै आएको दाबी गरे। उनले सामाजिक न्याय, समानता र समावेशी लोकतन्त्र पार्टीको मूल एजेन्डा भएको बताए।
त्यस्तै, कार्यक्रममा उपस्थित समानुपातिक उम्मेदवार खिमानन्द अधिकारीले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिप्रति संकेत गर्दै मुलुक साम्राज्यवादी शक्तिहरूको दबाबमा रहेको दाबी गरे। उनले त्यसविरुद्ध जनतालाई सचेत गराउन तथा राष्ट्रिय स्वाधीनता,लोकतन्त्र र जनअधिकारको रक्षा गर्न पार्टीले चुनावलाई माध्यम बनाएको बताए।
पत्रकार भेटघाट कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।