केशरराज क्षेत्री
प्यूठान,१४ वर्ष अघि प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्धारी पुग्ने सडक थिएन् । भिंगृबाट स्वर्गद्धारी जानका लागि ट्रयाक समेत खुलेको थिएन् । साढे १३ किलोमिटर सडक निर्माणका लागि करोडौँ बजेट लाग्दथ्यो । तत्कालिन जिल्ला विकास समितिसँग त्यति धेरै खर्च गर्ने स्रोतको सुनिश्चित हुने थिएन ।
०६६ सालमा तत्कालिन उद्योग वाणिज्य संघका अध्यक्ष स्व.सूर्य बहादुर विश्वकर्मा र संघकै पूर्व अध्यक्ष इमानसिँह भारती सहितको टोली काठमाण्डौँ पुगेर प्यूठानी एमाले नेता सूर्य थापालाई सँगै लिएर स्थानीय विकास मन्त्री रामचन्द्र झाँसँग बजेट माग गर्न पुगे । झाँ एमाले नेता सूर्य थापाका हितेसी साथी थिए ।
जसरी पनि स्वर्गद्धारी आश्रम पुग्ने सडकको ट्रयाक खोल्नुपर्छ भन्ने प्यूठानीहरुको मागलाई मन्त्री झाँ ले सुनुवाई गरे । एक करोड रुपैयाँ बजेट विनियोजन गरिदिने बाँचा मन्त्रीले दिए तर ७५ लाख रुपैयाँ बजेट आयो । त्यसै बजेटबाट स्वर्गद्धारीको आधार शिविर भिंगृदेखि स्वर्गद्धारी सडकको ट्रयाक खोलियो ।
स्वर्गद्धारी सडक पु¥याउनका लागि योगदान गरेको तत्कालिन एमाले नेता सूर्य थापा आगामी मंसीर ४ गते हुने प्रतिनिधीसभा सदस्यका लागि प्यूठानबाट उम्मेदवार बनेका छन् । थापाका लागि स्वर्गद्धारीको सडक चुनावी एजेण्डा बनेको छ । आफ्नै पहलमा २५ करोड भन्दा बढी बजेट विनियोजन गरेर सडक कालोपत्रे भएको समेत थापाले दाबी गर्दै आएका छन् ।
स्वर्गद्धारी जाने बाटोको बीचमा पर्ने भिंगृकोटमा आयोजित चुनावी सभामा सहभागी स्थानीयबासीले सूर्यलाई स्वर्गद्धारी सडक पु¥याउन गरेको योगदानलाई खुलेर प्रशंसा गरे । ‘हजुरले गरेको विगतको योगदान हामीले विर्षेका छैनौँ’,भिंगृकोटका स्थानीय दुर्गा केसीले भने,‘यो बाटोलाई अझै फराकिलो बनाउनुप¥यो ।’ सडक फराकिलो बनाउने सहित स्थानीयले थापासँग आठ बुँदे माग राखेका छन् ।
स्वर्गद्धारीको बृहतर विकासका लागि जुनसुकै बेला पनि आफूले सक्रिय भूमिका निर्वाह गरिरहेको थापाले प्रतिवद्धता सुनाए । ‘मन्त्रीसँग बजेट माग्न जाँदा म त्यसबेला मन्त्री थिएन्, नेता पनि थिएन् मात्र केन्द्रिय स्तरको एमालेको कार्यकर्ता मात्र थिए’,थापाले स्थानीयसँग भने,‘अबको स्वर्गद्धारी कस्तो बनाउने भन्ने बारेमा लिखित प्रतिवद्धता लिएर तपाईहरुमाझ आएको छु ।’
उनले स्वर्गद्धारी मन्दिर आश्रम पुग्नका लागि निर्माण गरिएको सिँढी अलपत्र परेको अवस्थामा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई स्वर्गद्धारी पु¥याएर बजेट विनियोजन गर्न लगाएको समेत स्मरण सुनाए । दुई करोड बजेट विनियोजन भएपछि सिँढी निर्माणको काम पुरा भएको छ ।
स्वर्गद्धारी प्यूठानीको भविष्यसँग जोडिएको पर्यटकीय क्षेत्र भएको थापाको भनाई छ । स्वर्गद्धारीसँग जोडिएको केबुलकार र विमानस्थल निर्माण पनि आफ्नो प्रतिवद्धतामा प्रमुख प्राथमिकतामा रहेको थापाले सुनाए ।
यीनै चुनावी एजेण्डा बोकेर एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले मतदाताको घर घरमा मत माग्न पुगेका छन् । स्वर्गद्धारीका सवै वडामा पुगेर मतदातासँग साक्षात्कार गरिएको थापाले सुनाए ।
प्रतिक्रिया राख्नुहोस्