बड्डाँडा बजारमा एमालेको शक्ति प्रदर्शन,प्युठान सरुमारानीबाट चुनावी यात्रा सुरु

बड्डाँडा बजारमा एमालेको शक्ति प्रदर्शन,प्युठान सरुमारानीबाट चुनावी यात्रा सुरु

प्युठान,सरुमारानी गाउँपालिकाबाट सुरु भएको नेकपा एमालेको चुनावी अभियानले जिल्लामा चुनावी सरगर्मीलाई नयाँ गति दिएको छ। वडा–स्तरबाटै अभियान सुरु गर्दै एमालेले संगठनात्मक शक्ति,जनसमर्थन र राजनीतिक आत्मविश्वासलाई एकैसाथ सार्वजनिक गरेको छ,जसको स्पष्ट झल्को बड्डाँडा बजारमा गरिएको जनप्रदर्शनमा देखिएको छ।
सरुमारानी गाउँपालिका वडा नं. ४ वडा कमिटीद्वारा आयोजित वडा–स्तरीय कार्यक्रमसँगै बड्डाँडा बजारमा गरिएको जनप्रदर्शनले पार्टीको संगठनात्मक तयारी,जनसमर्थन र राजनीतिक आत्मविश्वासलाई एकैसाथ प्रस्तुत गरेको देखिएको छ।
वडास्तरबाट सुरु भएको अभियान प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य बहादुर थापा क्षेत्रीको उपस्थितिमा सम्पन्न कार्यक्रममार्फत एमालेले पहिलो वडा र पहिलो चुनावी कार्यक्रम सरुमारानी–४ बाट सुरु गरेको हो। कार्यक्रमका क्रममा उमेदवार थापा क्षेत्रीले आगामी निर्वाचनको राजनीतिक महत्व,देशको वर्तमान अवस्था र भविष्यका सम्भावनाका विषयमा आफ्ना धारणा राख्नुभयो।
उहाँले अहिलेको निर्वाचनलाई सामान्य राजनीतिक प्रतिस्पर्धाको रूपमा मात्र नहेर्न आग्रह गर्दै यसलाई देश जलाउने र देश बचाउने शक्तिहरूबीचको निर्णायक लडाइँको संज्ञा दिनुभयो। थापा क्षेत्रीका अनुसार मुलुकको राजनीतिक स्थायित्व,विकास र समृद्धिको दिशालाई तय गर्ने निर्णायक घडी यही निर्वाचन हो।
कार्यक्रममा युवालाई विशेष रूपमा सम्बोधन गर्दै थापा क्षेत्रीले युवाहरू नै परिवर्तनका वास्तविक संवाहक भएको उल्लेख गर्नुभयो।
“सचेत,जिम्मेवार र दृढ संकल्पका साथ लोकतन्त्र,स्थायित्व र विकासको पक्षमा उभिनु आजको आवश्यकता हो,” उहाँको भनाई थियो।
युवामाथि भरोसा गर्दै गरिएको अपिलले कार्यक्रममा सहभागी युवाहरूमा उत्साह थपिएको देखिन्थ्यो।
थापा क्षेत्रीले आफ्नो अघिल्लो कार्यकालमा छोटो समयमै जिल्लाका सबै पालिकामा सडक,पूर्वाधार,खानेपानी,शिक्षा र स्वास्थ्य क्षेत्रका विकास निर्माण कार्यको सुरुवात भएको स्मरण गर्नुभयो।उहाँले ती योजनाहरू अझै पूर्ण नभएकाले विकासलाई निरन्तरता दिन पुनः उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो।“सुरु भएका कामलाई अधुरो छोड्नु हुँदैन,”उहाँले जोड दिँदै भन्नुभयो,“विकास भनेको निरन्तर प्रक्रिया हो।”
कार्यक्रममा नेकपा एमाले प्युठान जिल्ला अध्यक्ष विजय बिराज बिष्टले पार्टी सधैं युवाको शक्ति र क्षमतामा विश्वास गर्दै आएको उल्लेख गर्दै एमालेका नीति,विचार र कार्यक्रम युवामैत्री रहेको बताउनुभयो।
त्यसैगरी निर्वाचन कमिटी सरुमारानी गाउँपालिकाका संयोजक झग बहादुर विश्वकर्माले स्थानीय तहमा एमालेप्रति जनसमर्थन दिनप्रतिदिन बढ्दो क्रममा रहेको दाबी गर्नुभयो।
सुरुवात कै चरणमा उत्साहजनक कार्यक्रम भएको दावी गर्दै अध्यक्ष बिष्टले जनप्रदर्शनमार्फत पार्टीले आगामी दिनमा चुनावी अभियानलाई अझ सशक्त,संगठित र जनमुखी बनाउँदै लैजाने स्पष्ट सन्देश दिनुभयो।
लुम्बिनी प्रदेश समिति सदस्य धनबहादुर रायमाझी र क्षेत्रीय अध्यक्ष मोहम्मद हलुवाई लगायत नेताहरूले सम्बोधन गर्दै राजनीतिक स्थायित्व,समृद्धि र विकासका लागि एमाले नै भरोसायोग्य विकल्प रहेको धारणा राख्नुभयो।
वडा–स्तरीय कार्यक्रमसँगै सरुमारानी गाउँपालिकाको बड्डाँडा बजार क्षेत्रमा गरिएको जनप्रदर्शनले चुनावी माहोललाई थप ऊर्जा दिएको थियो।बजार केन्द्रित प्रदर्शनमा एमालेका नेता,कार्यकर्ता र समर्थकहरू उत्साहका साथ सहभागी भएका थिए। पार्टीका झण्डा,नाराबाजी र अनुशासित उपस्थिति देख्दा केही समय बड्डाँडा बजार पूर्ण रूपमा एमालेमय बनेको अनुभूति हुन्थ्यो।
जनप्रदर्शनमा महिला,युवा,वृद्धवृद्धासहित स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूका अनुसार यस प्रकारको उपस्थितिले जिल्लामामा नेकपा एमालेप्रतिको विश्वास,उत्साह र समर्थन अझ मजबुत बन्दै गएको संकेत गर्छ।
स्थानीय बासिन्दाहरूले विकास,स्थायित्व र अनुभवी नेतृत्वकै कारण यसपटक पनि एमालेप्रति जनआकर्षण बढ्दो क्रममा रहेको बताएका छन्। 
सरुमारानीबाट सुरु भएको एमालेको चुनावी यात्रा र बड्डाँडा बजारको जनप्रदर्शनले प्युठानमा चुनावी सरगर्मीलाई नयाँ उचाइमा पुर्‍याएको छ। वडास्तरबाटै अभियानलाई तीव्र बनाउँदै लैजाने एमालेको रणनीतिले आगामी निर्वाचनमा पार्टीको संगठनात्मक शक्ति र जनआधार कति प्रभावकारी रूपमा रूपान्तरण हुन्छ भन्ने चासो बढाएको छ।