सूर्य थापाको चुनावी दौड : सबै पालिकामा गरे अगुवा कार्यकर्तासँग भेटघाट

सूर्य थापाको चुनावी दौड : सबै पालिकामा गरे अगुवा कार्यकर्तासँग भेटघाट

प्यूठान,आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) ले प्यूठानमा आफ्नो चुनावी गतिविधि तीव्र बनाएको छ। उम्मेदवारी दर्ता गरेलगत्तै एमालेका प्रतिनिधि सभा उम्मेदवार सूर्य थापाले जिल्लाका नौवटै स्थानीय तहमा पुगेर पार्टीका अगुवा कार्यकर्तासँग प्रत्यक्ष भेटघाट पूरा गर्नुभएको छ।
पहिलो चरणको यो अभियानलाई एमालेले आन्तरिक संगठन सुदृढीकरण र चुनावी रणनीति निर्माणको आधारका रूपमा लिएको छ। नेकपा (एमाले) प्यूठान प्रचार विभाग प्रमुख इश्वरा आचार्यका अनुसार उम्मेदवार थापाले पालिका कमिटीमा आवद्ध अगुवा कार्यकर्तासँग छलफल गर्दै पार्टीको आन्तरिक जीवन, सांगठनिक अवस्था र निर्वाचन केन्द्रित योजनाबारे गहन संवाद गर्नुभएको हो।
“पहिलो चरणमा हामीले पार्टीभित्रको एकता, कार्यकर्ताको मनोबल र आगामी चुनावी रणनीतिमा केन्द्रित भएर छलफल गरेका छौँ,” आचार्यले बताउनुभयो।
यसैक्रममा आइतबार मात्रै उम्मेदवार थापा गौमुखी गाउँपालिका र झिमरुक गाउँपालिकामा पुग्नुभएको थियो। पार्टी सचिव इन्द्रमणी पोख्रेलका अनुसार ती पालिकामा अगुवा कार्यकर्तासँग भेटघाट र छलफल हुनुका साथै गौमुखी गाउँपालिकामा निर्वाचन सम्पर्क कार्यालयको समेत उद्घाटन गरिएको छ।
“अबका दिनमा जनस्तरमा पुग्ने, चुनाव लक्षित थप कार्यक्रमहरू सञ्चालन गरिन्छ,” सचिव पोख्रेलले जानकारी दिनुभयो।
नेकपा (एमाले) प्यूठानले यसपटक पनि निवर्तमान सांसद सूर्य थापामाथि भरोसा दोहोर्‍याएको छ। विगत तीन वर्षमा सुरु गरिएका विकास निर्माण र जनमुखी कामलाई पूरा गर्न एमालेको जित आवश्यक रहेको पार्टीको दाबी छ।
एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्टले अघिल्लो निर्वाचनमा पाँच दलीय गठबन्धनसँग फराकिलो मतान्तरले विजय हासिल गरेको स्मरण गर्दै यसपटक एक्लै चुनावी मैदानमा उत्रँदा जित निकाल्न झन सहज हुने विश्वास व्यक्त गर्नुभयो।“हामीले जनताको विश्वास जितिसकेका छौँ। त्यसको निरन्तरता अबको चुनावमा देखिनेछ,” विष्टको भनाइ छ।
चुनावी मिति नजिकिँदै जाँदा एमाले प्यूठानले संगठन विस्तार,कार्यकर्ता परिचालन र जनसम्पर्कलाई अझ तीव्र बनाउने संकेत गरेको छ। प्यूठानको राजनीतिक माहोल अहिले चुनावी बहस र गतिविधिले तातिन थालेको छ।