मोहन बिक्रम सिंह : संविधान र लोकतन्त्र बचाउन संसद संसद पुनःस्थापना हुनपर्छ 

मोहन बिक्रम सिंह : संविधान र लोकतन्त्र बचाउन संसद संसद पुनःस्थापना हुनपर्छ 

राम बहादुर बिश्वकर्मा 
प्युठान,नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले हालको राजनीतिक परिस्थिति चुनौतीपूर्ण रहेको भन्दै संसद पुनः स्थापना हुनु अपरिहार्य रहेको बताएका छन्।उनले शुक्रबार जुम्रीमा प्रगतिशील पत्रकार संघ,प्युठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वर्तमान सरकारलाई असंबैधानिक भनेका छन्।
महामन्त्री सिंहले देश अहिले “इतिहासकै गम्भीर संकट”तर्फ अघि बढिरहेको बताए।उनका अनुसार यस संकटको मुख्य कारण विदेशी प्रभाव,राजनीतिक विभाजन,अस्पष्ट नेतृत्व र विविध राजनीतिक धारणाको अभाव हो। उनले भने कि संविधानको सीमितता र राजनीतिक दलबीचको असहमति राष्ट्रिय विकास र लोकतान्त्रिक प्रक्रिया अवरुद्ध बनाउने मुख्य कारक बनेको छ।
सिंहले थपे,“देशको लोकतन्त्रको स्थायित्व र संवैधानिक अधिकारको रक्षा गर्न संसदको पुनःस्थापना अपरिहार्य छ। यसबिना राजनीतिक स्थिरता र विकासको बाटो सम्भव छैन।”उनका अनुसार संसद पुनः स्थापित हुँदा मात्र निर्वाचन प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गर्न सकिन्छ।
महामन्त्री सिंहका अनुसार संसद पुनः स्थापना हुनु मात्र असंबैधानिक सरकारको प्रभाव घटाउने उपाय होइन,बरु यसले देशको राजनीतिक नेतृत्वलाई जिम्मेवारी र स्पष्ट दिशा दिने काम गर्नेछ। उनले चेतावनी दिंदै भने कि यदि संवैधानिक व्यवस्थामा सुधार नगरेको खण्डमा देश अझ गम्भीर संकटमा फस्ने सम्भावना रहेको छ।
यसरी महामन्त्री मोहन बिक्रम सिंहले संविधानको सम्मान,लोकतान्त्रिक प्रक्रिया र राजनीतिक स्थायित्व सुनिश्चित गर्न संसद पुनःस्थापना र निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने आवश्यकतालाई जोड दिएका छन्।
हालको राजनीतिक अवस्था हेर्दा निर्वाचन समयमै हुने सम्भावना कम देखिएको उनले बताए। तर ढिलो भए पनि निर्वाचन भएमा आफ्नो पार्टी कसैसँग तालमेल नगरी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको पनि महामन्त्री सिंहले स्पष्ट पारे।
उनले पत्रकारहरूसँ कुरा गर्दै भने,“गठबन्धन गर्दा हामीलाई धोका भएको छ। यसपटक आफ्नो पार्टीको स्वतन्त्र पहिचान र स्पष्ट रणनीति अघि बढाउन हामीले उम्मेदवार छिट्टै तय गर्ने निर्णय गरेका छौँ।”
महामन्त्री सिंहका अनुसार विगतमा भएका गठबन्धनहरूले पार्टीको निर्णय र उद्देश्यमा प्रभाव पारेको अनुभव भएको छ। त्यसैले आगामी निर्वाचनमा स्वतन्त्र प्रतिस्पर्धा गर्ने रणनीति अपनाइएको छ।
सिंहले थपे कि यस निर्णयले पार्टीलाई देशव्यापी राजनीतिक भूमिका र नेतृत्व क्षमता मजबुत बनाउनेछ। उनका अनुसार पार्टीको उम्मेदवार चयन प्रक्रिया पारदर्शी र समयमै सम्पन्न हुने छ,जसले मतदातासँगको प्रत्यक्ष सम्पर्क र विश्वास कायम राख्नेछ।