राम बहादुर बिश्वकर्मा
प्यूठान,प्यूठान नगरपालिका–७ स्वर्गद्वारी बहुमुखी क्याम्पसमा हालै सम्पन्न १२औँ साधारण सभा तथा १४औँ अधिबेशन बाट छनोट गरिएको समिती सम्बन्धी विवाद चुलिएको छ। २०८२ मंसिर २३ गते सम्पन्न सभाले विधान विपरीत क्याम्पस सञ्चालक समिति गठन गरेको आरोप लगाउँदै कार्यसमितिका चार सदस्यहरूले संयुक्त रूपमा पदबाट राजीनामा दिएका छन्।
राजीनामा दिनेहरुमा नेहरसिङ के.सी,पार्वता आचार्य,डिलबहादुर थापा र धना कार्की रहेका छन्। उनीहरूले सार्वजनिक विज्ञप्ति जारी गर्दै सभामा गणपुरक संख्या नपुगेको,सभा–सभासद नै नठहरिएका व्यक्तिहरूलाई समितिमा समावेश गरिएको साथै व्यक्तिगत तथा दलगत सहमति विना नाम समावेश गरिएको गम्भीर आरोप लगाएका छन्।
कार्य समिति भित्रअघि पटक–पटक विधान संशोधन र निर्णयसँग सम्बन्धित विषयमा छलफल भए पनि अध्यक्षले एकलौटी रुपमा निर्णय लिने,साथै स्ववियु निर्वाचनका गोप्य जानकारी चुहावट गरी निर्वाचन प्रक्रियामा प्रभाव पार्ने गतिविधि भएको जस्ता अनियमितताहरूको पनि उनीहरूले उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ,“विधान विपरीत निर्वाचित गरिएको कार्यसमितिमा हामी रहनेछैनौं,”भन्दै क्याम्पसमा भएको अवैधानिक गतिविधि यथाशीघ्र सच्याउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
क्याम्पस प्रशासनले भने यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।
प्रतिक्रिया राख्नुहोस्