प्युठान,प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा प्युठानका गाउँ–बस्तीहरूमा फेरि राजनीतिक चहलपहल बढेको छ। सडकछेउका चौतारी,आँगन र सामुदायिक भवनहरू अहिले विकास,नेतृत्व र भविष्यका बहसले भरिन थालेका छन्। यही परिवेशमा नेकपा एमाले प्युठानले जनतासँग प्रत्यक्ष भेटघाटलाई अभियानकै रूपमा अघि बढाएको छ। सोही अभियानअन्तर्गत प्रतिनिधि सभा उम्मेदवार सूर्यबहादुर थापा क्षेत्री बिहीबार सरुमारानी,माण्डबि गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाका अगुवा तथा स्थानीयवासीसँग संवादमा जुट्नुभयो।
कार्यक्रम औपचारिक भाषणभन्दा बढी संवादमुखी देखिन्थ्यो। स्थानीय बासिन्दाले आफ्ना दैनिक जीवनसँग जोडिएका समस्या,विगतका अपेक्षा र आगामी दिनका आशा उम्मेदवारसमक्ष राखे। सडक नपुगेका बस्ती,उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता,युवाको रोजगारी,किसानका समस्या र शिक्षा–स्वास्थ्यको गुणस्तरजस्ता विषय संवादका केन्द्रमा थिए।
थापा क्षेत्रीले पाँच वर्षका लागि प्युठानी जनताले सुम्पेको जिम्मेवारी ३३ महिनामै पुनः जनादेशका लागि आउनु परेको राजनीतिक अवस्थाबारे प्रस्ट पार्दै उक्त परिस्थितिलाई जनताले बुझिदिनुपर्ने बताउनुभयो। नेकपा एमालेले २०७० सालदेखि नेकपा एमालेबाट निर्वाचित भई संघ र प्रदेश तहमा संसद तथा मन्त्रीका रूपमा निर्वाह गरेका जिम्मेवारी स्मरण गर्दै उहाँले नीति निर्माणदेखि कार्यान्वयनसम्म आफूले खेलेको भूमिकाबारे विवरण प्रस्तुत गर्नुभयो।
उहाँले आफ्नो कार्यकालमा सुरु गरिएका सडक, खानेपानी,शिक्षा,स्वास्थ्य र पूर्वाधारसम्बन्धी योजनाहरूको चर्चा गर्दै संसद र सरकारमा बसेर प्युठानका आवाज कसरी उठाइयो भन्ने अनुभव सुनानाउनुभयो। “योजना सुरु गर्नु मात्र उपलब्धि होइन,त्यसलाई पूरा गर्नु अझ ठूलो जिम्मेवारी हो,” भन्दै उहाँले अधुरा कामलाई पूर्णता दिन निरन्तर नेतृत्व आवश्यक रहेको धारणा राख्नुभयो।
भेटघाटका क्रममा अगुवा तथा स्थानीय बासिन्दाले विगतका कामको मूल्याङ्कनसमेत गरेका थिए। कसैले विकासले गति लिएको बताए त कसैले अझै अपेक्षा बाँकी रहेको संकेत गरे। यसप्रकारको खुला आलोचना र सुझावलाई स्वागत गर्दै थापा क्षेत्रीले जनताको प्रत्यक्ष मूल्याङ्कन नै लोकतन्त्रको शक्ति भएको बताउनुभयो।
कार्यक्रममा पार्टिका अध्यक्ष बिजयबिराज बिष्टले संगठन सुदृढीकरण,चुनावी रणनीति र प्युठानको दीर्घकालीन विकासका विषयमा आफ्नो धारणा राख्नुभयो। उहाँका अनुसार एमालेले विकास,स्थायित्व र सुशासनलाई मुख्य एजेन्डा बनाएर चुनावी मैदानमा उत्रिएको छ।
प्रतिक्रिया राख्नुहोस्