सूर्य थापा–गोविन्दराज पोख्रेलले प्यूठानबाट देखाए राजनीतिक संस्कार

सूर्य थापा–गोविन्दराज पोख्रेलले प्यूठानबाट देखाए राजनीतिक संस्कार

सिता बि.क
प्युठान,प्यूठानको राजनीतिक माहोल यसपटक अलि फरक देखिएको छ।चुनावी प्रतिस्पर्धाको सुरुवातमै नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारहरूले एकअर्कालाई शुभकामना साटासाट गर्दै सौहार्दपूर्ण सन्देश दिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गराएपछि एमालेका सूर्य बहादुर थापा क्षेत्री र नेपाली कांग्रेसका प्रा.डा.गोविन्दराज पोख्रेलले हात मिलाउँदै आगामी निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुने संकेत गरे। राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको सन्दर्भमा उनीहरूको यो व्यवहारलाई धेरैले सकारात्मक रूपमा लिएका छन्।
प्यूठानको चुनावी इतिहास पनि उतार–चढावले भरिएको छ।२०७४ सालको निर्वाचनमा बाम गठबन्धनका कारण कांग्रेस उम्मेदवार पोख्रेल पराजित हुनुभयो भने २०७९ सालमा पाँच दलीय गठबन्धनकै कारण उहाँ उम्मेदवार बन्नसमेत पाउनुभएन। त्यही निर्वाचनमा एमालेका सूर्य थापा विजयी हुनुभयो।
यस अघि,२०७४ सालको निर्वाचनमा भने प्यूठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल विजयी हुनुभएको थियो।यसले प्यूठानको मतदाता व्यवहार गठबन्धन र राजनीतिक समीकरणसँग कति गहिरो रूपमा जोडिएको छ भन्ने देखाउँछ।
मनोनयनपछि पत्रकारहरूसँगको कुराकानीमा एमाले नेता थापालाई एउटा चासोपूर्ण प्रश्न सोधियो-“पहिले कांग्रेस नेता पोख्रेलको सहयोगमा चुनाव जित्नुभयो,अहिले उहाँसँगै प्रतिस्पर्धा गर्दै हुनुहुन्छ नि?”यसमा थापाको जवाफ स्पष्ट थियो।
“नाता–सम्बन्धका हिसाबले अर्कै पार्टीमा भए पनि भोट दिनुभएको होला, त्यो अर्कै कुरा हो,”उहाँले भन्नुभयो, “संस्थागत सहयोग भने थिएन।”
व्यक्तिगत सम्बन्ध र राजनीतिक प्रतिस्पर्धालाई अलग राख्ने यो भनाइले प्यूठानको चुनावी मैदान केवल मतको लडाइँ मात्र नभई दृष्टिकोण र संस्कारको पनि परीक्षा हुने संकेत गर्छ।
अब हेर्न बाँकी छ-शुभकामनाबाट सुरु भएको यो प्रतिस्पर्धा मतपेटिकासम्म पुग्दा कस्तो रूप लिन्छ।