राम बहादुर बिश्वकर्मा
प्युठान,संविधान दिवसको अवसरमा निवर्तमान संघीय सांसद तथा नेकपा(एमाले)पोलिटब्युरो सदस्य सूर्यबहादुर थापा क्षेत्रीले हालको संविधानिक अवस्था र देशको राजनीतिक परिदृश्यप्रति गम्भीर चिन्ता व्यक्त गर्दै एक दुःखद,तीखो र तथ्यपरक वक्तव्य जारी गर्नुभएको छ।
थापा क्षेत्रीले एक वक्तव्य सार्वजनिक गर्दै वर्तमान राजनीतिक नेतृत्वमाथि गम्भीर प्रश्न उठाउनुभएको छ।
"संविधान घाइते छ,जनमतको अपमान भैरहेको छ”
संविधानको एक दशक पुरा भएको सन्दर्भमा शुभकामना दिँदै क्षेत्रीले हालको सरकारलाई "संविधानले नचिन्ने पात्रहरूको असंवैधानिक संरचना"
भन्दै वक्तव्यको सुरुआतमा क्षेत्रीले नेपालको संविधान निर्माणको ऐतिहासिकता स्मरण गर्दै शुभकामना दिनुभएको छ तर सो संविधान घाइते अवस्थामा रहेको उल्लेख गर्दै भन्नुभएको छ "जननिर्वाचित संविधानसभाबाट निर्मित संविधान आज आफ्नै रक्षकहरूबाट अपमानित र कुचिएको छ,प्रतिनिधिसभा विघटन,असंवैधानिक प्रधानमन्त्रीको नियुक्ति र राजनीतिक संरचना प्रति गहिरो चिन्ता प्रकट गर्नुभएको छ।
बक्तब्यमा लेख्नुभएको छ संसद बिनाकसुर संहार गरियो,जननिर्वाचित संस्था तहसनहस पारिए,विदेशी रणनीतिमा भरौटाहरू मार्फत हिंसा मञ्चन भयो र सत्ताको टाउकोमा कठपुतली प्रधानमन्त्री बसालियो।
"राष्ट्रविरोधी षड्यन्त्र र विदेशी हस्तक्षेप"
क्षेत्रीले हालैको देशव्यापी अराजकता,हिंसा र आगजनीलाई “राष्ट्रविरोधी अन्तर्राष्ट्रिय गठबन्धनद्वारा निर्देशित सुनियोजित हमला” को संज्ञा समेत दिनुभएको छ।
“सिंहदरबारमा भरौटे घुसाएर आगो लगाइन्छ,सेना रमिते बन्छ र संविधान बलात्कृत हुन्छ। यो सब दुर्घटना होइन,षड्यन्त्र हो।”
सिंहदरबार र राष्ट्रिय संरचना जलाइयो,सेना मौन?
क्षेत्रीले सिंहदरबार, संसद भवन,अदालत,राजनीतिक दलहरूको केन्द्रीय कार्यालयमाथि भएको आगजनीमा"सरकार र सुरक्षाकर्मी रमिते बनेको समेत जिकिर गर्नुभएको छ।
“राष्ट्र जल्दा सेना मौन रहनु र महानगर प्रमुख आगोको रमिता हेर्नु-विडम्बनापूर्ण मात्र नभई षड्यन्त्रकै हिस्सा हो।”
उक्त हिंसात्मक घटनामा माओवादी,रास्वपा,राप्रपा र काँग्रेसका कतिपय कार्यकर्ताहरू समेत संलग्न भएको दृश्य प्रमाणसमेत सार्वजनिक भइसकेको उहाँले उल्लेख गर्नुभयो।
"लिपुलेक प्रकरणपछि प्रतिशोध स्वरूप राष्ट्र डढाइएको हो"
क्षेत्रीका अनुसार चीनको सांघाई सम्मेलनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको विषयमा उठाएको आवाजकै प्रतिक्रिया र प्रतिशोधस्वरूप राष्ट्रमा आगो लगाइएको हो।
उक्त घटनालाई उहाँले“राष्ट्रविरोधी शक्तिहरूको नाङ्गो संलग्नता”को संज्ञा दिनुभएको छ।उहाँ लेख्नुहुन्छ “नेपाली भूभागको रक्षामा उभिएको नेतृत्वमाथि यसरी यसरी षडयन्त्र रचिनु स्वयं राष्ट्रमाथिको आक्रमण हो।”
संविधान बचाउने सङ्कल्प
वक्तव्यको अन्त्यमा उहाँले सात दशक लामो संघर्षबाट प्राप्त संविधानको रक्षा र संविधानसम्मत शासन सञ्चालनमा न्यायप्रेमी र राष्ट्रभक्त जनसमुदायलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ।
प्रतिक्रिया राख्नुहोस्