राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका घाम उदाउनुअघि खेततिर लम्किने पाइला,साँझ अस्ताउँदा थकित शरीर-यही हो नेपाली कृषकको दैनिकी।वर्षौंदेखि माटोसँग जीवन बिताउने कृषकका लागि उत्पादन मात्र होइन,भविष्यको चिन्ता पनि उत्तिकै गहिरो हुन्छ।यही यथार्थलाई आत्मसात गर्दै प्युठान नगरपालिकाले कृषकका लागि सुरक्षित भोलिको ढोका खोलेको छ-किसान पेन्सन कार्यक्रम मार्फत।
नगरभित्रका व्यावसायिक कृषकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्दै नगरपालिकाले कार्यक्रमको औपचारिक सुरुवात गरेको हो।यसले कृषकको श्रमलाई अब केवल उत्पादनसँग मात्र होइन,सम्मान,सुरक्षा र सुनिश्चित भविष्यसँग जोडिदिएको छ।
बुधबार कार्यक्रमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न प्युठान नगरपालिका,सामाजिक सुरक्षा कोष र कृषकहरूबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरी पेन्सन कार्यक्रमका उद्देश्य,नगरपालिकाबाट हुने योगदान,आवद्ध हुने प्रक्रिया, मासिक बचत, प्राप्त हुने पेन्सन र अन्य सुविधाबारे सरल र स्पष्ट जानकारी दिइयो।
अन्तरक्रियामा सहभागी कृषकहरूको आँखामा आशा झल्किन्थ्यो।“अब बुढेसकालमा कसैको भर पर्नु नपर्ला,”उनीहरूले भन्नुभयो।लामो समयदेखि भविष्यप्रति चिन्तित कृषकहरूले पहिलोपटक आफ्नो मेहनतको प्रतिफल र सुरक्षा देखेपछि आत्मविश्वासका साथ भविष्यतर्फ हेर्न सके।
नगर प्रमुख बिष्णु योगिले कृषकको जीवनमा यस पहलको महत्व स्पष्ट पार्दै भन्नुभयो,“कृषकहरूको भोलि केवल उत्पादन र आम्दानीमा निर्भर हुन हुँदैन। उनीहरूको भविष्य आर्थिक सुरक्षा,सामाजिक न्याय र सम्मानसँग जोडिनु आवश्यक छ।किसान पेन्सन कार्यक्रमले यही मार्ग खोल्ने काम गरेको छ।यस कार्यक्रममार्फत कृषकले बुढेसकालमा अनिश्चितताबाट मुक्ति पाउनेछन्,आफ्ना परिवार र समाजमा सम्मानित स्थान पाउनेछन र आफ्नो मेहनतको फल सधैं सम्झिन सक्नेछन्।यो पहल केवल योजनाको रूपमा मात्र छैन,यो समाजको त्यो विश्वास हो,जसले माटोसँग जीवन बिताउने कृषकलाई सम्मान,सुरक्षा र आत्मसम्मान दिने प्रतिवद्धता जनाउँछ। हामी विश्वास गर्छौं कि यसले कृषकको जीवनलाई दीर्घकालीन रूपमा सशक्त बनाउनेछ र कृषि पेशालाई थप आकर्षक,दिगो र सम्मानजनक बनाउने मार्ग खोल्नेछ।”
प्युठान नगरपालिकाको यो कदमले ‘कृषकका लागि नीति होइन,नतिजा चाहिन्छ’भन्ने सन्देशलाई व्यवहारमा उतारेको छ।माटोसँग बाँधिएको जीवनलाई सम्मान र सुरक्षाको अनुभूति दिलाउँदै,किसान पेन्सन कार्यक्रम कृषकका लागि सुरक्षित,सम्मानित र आशावादी भविष्यतर्फको मजबुत पाइला बनेको छ।
प्रतिक्रिया राख्नुहोस्