राम बहादुर बिश्वकर्मा
प्युठान,लुम्बिनी प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयद्वारा आयोजित बेरुजुको समीक्षा गोष्ठी तथा शून्य बेरुजु प्रोत्साहन कार्यक्रममा स्वास्थ्य कार्यालय प्युठानले उल्लेखनीय उपलब्धि हासिल गर्दै प्रमाणपत्रसहित सम्मान प्राप्त गरेको छ।
स्वास्थ्य कार्यालय प्युठानले आर्थिक वर्ष २०७५/०७६ देखि २०८१/०८२ सम्म लगातार शून्य बेरुजु कायम गर्न सफल भई वित्तीय अनुशासन,पारदर्शिता र जवाफदेहिताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। लामो समयसम्म बेरुजुरहित आर्थिक व्यवस्थापन गर्न सफल हुनु कार्यालयको संस्थागत क्षमता,प्रभावकारी नेतृत्व र कर्मचारीहरूको सामूहिक प्रतिबद्धताको परिणाम हो।
सम्मान ग्रहण गर्दै स्वास्थ्य कार्यालय प्युठानका प्रमुख मधुसूदन खड्काले यो उपलब्धि सम्पूर्ण कर्मचारीहरूको मेहनत,इमानदारी र टिमवर्कको प्रतिफल भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि आर्थिक पारदर्शिता कायम गर्दै गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँका अनुसार कार्यक्रममा स्रोतको सदुपयोग,समयमै लेखापरीक्षण,कागजात व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत लगायतका सुचकहरुको आधारमा निरन्तर दुई आर्थिक बर्ष बेरुजु शुन्य बनाउन सफल भएको बताउनुभयो।कार्यक्रममा यस किसिमको अभ्यासले प्रदेश तथा स्थानीय तहका अन्य सरकारी निकायलाई पनि वित्तीय सुशासनतर्फ अग्रसर गराउने विश्वास व्यक्त गरिएको थियो।
यस सम्मानले स्वास्थ्य कार्यालय प्युठानलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै कार्यालयले भविष्यमा पनि शून्य बेरुजु कायम राख्दै सुशासनयुक्त सार्वजनिक सेवा प्रवाहमा निरन्तर लागिरहने जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्