गौमुखीको नाङ्गि लेख : फूलले सजिएको रमणीय स्वर्ग,जहाँ फूलको सुगन्धमा झुम्छन् पर्यटक

गौमुखीको नाङ्गि लेख : फूलले सजिएको रमणीय स्वर्ग,जहाँ फूलको सुगन्धमा झुम्छन् पर्यटक

राम बहादुर बिश्वकर्मा 
प्युठान,प्युठान जिल्लाको गौमुखी गाउँपालिका वडा नम्बर २ मा लुकेको छ एउटा यस्तै स्वर्ग- नाङ्गि लेख। जहाँ बादलले बुट्टा बुन्छन्,जहाँ चिसो हावाले आत्मालाई स्पर्श गर्छ र जहाँ मानव सभ्यता प्रकृतिसँग संवाद गर्छ।
नाङ्गि लेखमा देखिने अनेक थरिका फुलहरूले यहाँ आगन्तुक जो कसैलाई मोहित पार्छन्। वसन्त र मनसुनको मौसममा त यो ठाउँ फुलबारी नै बनेको जस्तो लाग्छ। रङ्ग–रंगका जंगली फूलहरूको हाँगामा ढाकिएको पहाड,हरियालीले ओतप्रोत वन–जंगल र सुगन्धित हावाले आत्मालाई उचालिदिन्छ।विशेष गरी लालीगुराँस,सिमल,चाङ्गे,रेशमफूल जस्ता दुर्लभ फुलहरूको सौन्दर्य यहाँ प्रत्यक्ष देख्न पाइन्छ। फुलका रेखा मात्र होइन,तिनले बनाएको वातावरण र शान्तिको अनुभूति पनि यात्रुको मनमा अडिग रहन्छ। पाखा–भिर र भञ्ज्याङहरूमा फुलिरहने यी सुन्दर फूलहरूले हरेक पाइलामा जादूमय बनाइदिन्छन्।
फूलहरू मात्र होइन,यहाँको परम्परागत पूजा–पाठ,स्थानीय सौन्दर्य र ग्रामीण जीवनशैली पनि आगन्तुकलाई आकर्षित गर्छ। गाउँको साँझ, बन्यजन्तुका आवाज र धुपधुममा उठेको सांस्कृतिक आत्माले यहाँका आगन्तुकलाई मोहित बनाइदिन्छ। प्रकृतिको मौलिक र अछुतो स्वाद लिन चाहनेहरूको लागि नाङ्गि लेख एउटा आदर्श गन्तव्य बन्न सक्छ।

गौमौखी गाउँपालिका - २ स्थित रमणीय क्षेत्र नाङ्गी लेख


समुद्री सतहबाट उल्लेखनीय उचाइमा रहेको नाङ्गि लेख पहुँचका हिसाबले कठिन लाग्न सक्छ।तर त्यहाँ पुगेपछि,यात्रा कठिन छैन,अनुभव गरिमामय छ। यात्रुहरू भन्छन्-“एकपटक पुगेपछि,संसारको शान्ति यत्तिकै हो भान हुन्छ।”बिहानै उठेर सूर्योदयका किरणले हिमालका टुप्पा रंगिने यो दृश्य नियाल्दा सुगन्धित बगैँचा झैँ मनको कोठामा फूल झैँ खिल्छ।
नाङ्गि लेखको सौन्दर्यलाई अझै रंगीन बनाउने कुरा हो त्यहाँका स्थानीयको मिलनसार स्वभाव। खानपिनमा स्थानीय स्वाद,बसाइमा होमस्टेको वातावरण,आदर र सम्मानमा भरिएको अतिथि सत्कार। यहाँको सांस्कृतिक सत्कारले पर्यटकका लागि घरबाट बाहिरको घरको अनुभूति दिलाउँछ।
नाङ्गि लेखले प्राकृतिक सौन्दर्यसँगै ‘स्लो टुरिज्म’को सम्भावना बोकेको छ। पछिल्ला वर्षहरूमा हाम्रा पहाडहरूमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै जाँदा नाङ्गि लेख पनि छनकमा परिरहेको छ।
नाङ्गि लेख केवल स्थान मात्र होइन, यो अनुभूति हो जीवनको लय पहाडको सानसँग मिसिएको। यो प्रकृतिको कविता हो,जसलाई चाहिँ जो कोहीले आफूभित्र कोरिदिन सक्छ।
यो सौन्दर्यलाई जोगाउन,सकारात्मक प्रचार गर्न र पर्यटकीय पूर्वाधार विस्तार गर्न सके,नाङ्गि लेख प्युठानको मात्र नभएर देशकै गर्विलो गन्तव्य बन्न सक्छ।