प्युठानको पत्रकारिता २४ वर्षमा : अग्रजको संघर्षदेखि डिजिटल युगसम्म यात्राको समीक्षा

प्युठानको पत्रकारिता २४ वर्षमा : अग्रजको संघर्षदेखि डिजिटल युगसम्म यात्राको समीक्षा

राम बहादुर बिश्वकर्मा
प्युठान,नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानले आफ्नो २४औं स्थापना दिवस सोमबार उत्साहपूर्वक मनाएको छ। कार्यक्रममा जिल्लाको पत्रकारिताको इतिहास, वर्तमान अवस्था र भविष्यको दिशा विषयमा गहिरो समीक्षा गर्दै मर्यादित,जिम्मेवार र तथ्यपरक पत्रकारिताको आवश्यकता माथि जोड दिइयो।
कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री तुल्सिराम शर्मा ले पत्रकारहरूले स्थानीय सरोकारलाई प्राथमिकतामा राख्दै विश्वसनीय सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो,"पत्रकारले अहिलेको सूचना प्रविधि युगमा गलत समाचार र अफवाह नियन्त्रण गर्न सजग हुनुपर्छ। आफ्नो आचरण र शब्दमा मर्यादा देखाउनु पत्रकारको पहिचान हो। एकपक्षीय धारणा होइन, सत्यतथ्य र सन्तुलित समाचार नै पत्रकारिताको मूल आधार हो।"त्यस्तै शाखाका अध्यक्ष श्रीराम भण्डारी ले भन्नुभयो।,"प्युठानको पत्रकारिता संघर्ष र लगनशीलताको जगमा उभिएको छ। अबको चुनौती डिजिटल माध्यममा पनि सत्य,तथ्य र जिम्मेवार समाचारलाई प्राथमिकता दिनु हो। हाम्रो कलम निष्पक्ष र जनमुखी हुनुपर्छ।"

उहाँले थप्नुभयो,"२४ वर्ष अघि केही कलमधारी अग्रजहरूको छोटो प्रयासले सुरु भएको पत्रकारिता आज यो स्तरमा पुगेको छ। अग्रजहरूको प्रेरणाबाट हामीले पेशागत इमानदारी र जनउत्तरदायित्वलाई मुख्य सिद्धान्त बनाउनेछौं। पत्रकारिता हाम्रो समाजको परिवर्तनको आधार भएकाले निरन्तर यात्रामा कटिबद्ध रहनु पर्छ।"पूर्व अध्यक्ष सन्जय रिजालले आफ्नो २५ बर्षे पत्रकारिताको यात्रा स्मरण गर्दै भन्नुभयो।,"पत्रकारिताको शुरुवातमा कठिनाइ धेरै थिए-पत्रिका छाप्ने र समाचार पठाउने सुविधा थिएन। तर सत्य बोल्ने साहस थियो। अहिलेका पत्रकारहरूले त्यो परम्परालाई निरन्तरता दिनुपर्छ।"पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारी ले पत्रकारितालाई केवल समाचार लेख्ने माध्यम नभई समाजमा चेतना फैलाउने अभियान बताउनुभयो।उहाँले थप्नुभयो,"पत्रकारले निष्पक्ष भएर सत्तालाई प्रश्न गर्न र पीडितको आवाज बुलन्द गर्न कहिल्यै डराउनु हुँदैन।"कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष स्व. सुर्य बि.क,पूर्व उपाध्यक्ष स्व. बसन्ता भट्ट, सदस्य स्व. याम थापा लगायत प्रेस स्वतन्त्रताका लागि बलिदान दिने अग्रज पत्रकारहरू प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
बिहान रक्तदान सन्चार केन्द्र बिजुवारमा रक्तदान पछि जुम्रीको आयुस्मा होटलमा सन्चालन गरिएको अन्तरक्रिया कार्यक्रममा प्रेस चौतारीका उपाध्यक्ष राम बहादुर बिश्वकर्मा,प्रेस युनियनका अध्यक्ष मधुसूदन भण्डारी,प्रेस सेन्टरका उपाध्यक्ष रमेश गिरी र प्रगतिशील पत्रकार संघ प्युठानका अध्यक्ष प्रज्वल पहाडी लगायत जिल्लाका विभिन्न सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना ब्यक्त गर्नुभएको थियो। 
शाखाका सह सचिब शसिधर भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन सचिब बासुदेव गिरीले गर्नुभएको थियो।