प्रहरीको यात्रु–मैत्री अभियान : बाग्दुला चोकमा सहायता कक्ष स्थापना

प्रहरीको यात्रु–मैत्री अभियान : बाग्दुला चोकमा सहायता कक्ष स्थापना

राम बहादुर बिश्वकर्मा
प्युठान,चाडपर्वको अवसरमा यात्रुहरूको सहज, सुरक्षित र व्यवस्थित यात्राका लागि प्रहरीको रचनात्मक तथा यात्रु-मैत्री पहल स्वरूप प्युठानको बाग्दुला चोकमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ।
अस्थायी प्रहरी पोस्ट बाग्दुला, ट्राफिक प्रहरी,यातायात व्यवसायीहरू र स्थानीय सरोकारवालाहरूको संयुक्त सहकार्यमा सञ्चालनमा ल्याइएको उक्त सहायता कक्ष मार्फत यात्रुहरूलाई यातायात सम्बन्धी सूचना,मार्गदर्शन,आपतकालीन सहयोग तथा अन्य आवश्यक सेवा प्रदान गरिनेछ।
कार्यक्रममा स्थानीय व्यवसायी, चालक-परिचालक, समाजसेवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। यसमार्फत प्रहरीको यात्रु–मैत्री भूमिकालाई अझ सशक्त बनाउने विश्वास लिइएको छ।कार्यक्रमको नेतृत्व गरेका अस्थायी प्रहरी पोस्ट बाग्दुलाका प्रमुख तथा प्रहरी बरिस्ठ नायब निरिक्षक चन्द्र बहादुर मगरले यात्रु सहायता कक्ष सहयोग र सहभागिताको यो प्रयास चाडपर्वको चहलपहलमा यात्रुहरूको मुस्कान र सुरक्षामा केन्द्रित रहने बताउनुभयो।”
त्यस्तै, ट्राफिक प्रहरी हवल्दार चन्द्र नगरकोटीले जानकारी दिनुहुँदै भन्नुभयो “यात्रुहरूलाई सहजता र सहायता प्रदान गर्ने उद्देश्यले सहायता कक्षको सुरुवात गरिएको हो।हामी केवल कानून कार्यान्वयनमा मात्र होइन, सेवा र सहानुभूतिमा पनि समर्पित छौं।”
उहाँका अनुसार प्रहरी संस्था यात्रुको सुरक्षा मात्र होइन,आत्मीयता,विश्वास र जनमैत्री सेवा प्रवाहमा पनि उत्तिकै सक्रिय हुँदै आएको छ।
चाडपर्वको व्यस्त समयमा यात्रुहरूको सहुलियत र सुरक्षा सुनिश्चित गर्ने प्रहरीको यो पहल उदाहरणीय भएको सरोकारवालाहरूको भनाइ छ।