उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई पुरस्कृत गर्दै प्युठान नगरपालिका

उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई पुरस्कृत गर्दै प्युठान नगरपालिका

राम बहादुर बिश्वकर्मा 
प्युठान,प्युठान नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)सहित विभिन्न कक्षाको परीक्षामा उत्कृष्ट नतिजा ल्याएका दुई सामुदायिक विद्यालयलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियानमा जुटेको प्युठान नगरपालिकाले शैक्षिक सत्र २०८१ को एसइई तथा कक्षा ८ को परिक्षामा नगर भित्र उत्कृष्ट स्थान हासिल गर्ने बिध्यालयलाई पुरस्कार प्रदान निर्णय गरेको हो।
सामुदायिक विद्यालयहरूलाई प्रोत्साहन गर्दै गुणस्तरीय शिक्षातर्फ उन्मुख गराउने उद्देश्यले यस्तो निर्णय गरिएको नगर प्रवक्ता तथा वडा नं ३ का अध्यक्ष सुमनराज श्रेष्ठ जानकारी दिनुभयो।
प्रवक्ता श्रेष्ठका अनुसार शारदा माध्यमिक विद्यालय,सापडाँडालाई ३ लाख रुपियाँ र कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याएको बालज्योति माध्यमिक विद्यालय,गेजवाङलाई २ लाख नगद राशी सहित पुरस्कार प्रदान गरिनेछ।
शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिकाले गर्नुपर्ने लगानीमा कन्जुस्याइँ नहुने नगर प्रमुख बिष्णु योगिले प्रतिक्रिया दिनुभयो।
शिक्षक,अभिभावक र स्थानीय सरकारको गतिशिलताले मात्रै शैक्षिक सुधार सम्भव रहेको नगर प्रमुख योगिको भनाई छ। 
नगरपालिकाले शैक्षिक सुधारमा देखाएको तत्परता सराहनीय रहेको शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक गेहराज अधिकारीले प्रतिक्रिया दिनुभयो। 
नगरपालिकाको यो घोषणाले विद्यालयहरूले शैक्षिक क्षेत्रमा कोल्टे फेर्न सक्ने प्रध्यानाध्यापक अधिकारीले आशा व्यक्त गनुभयो।
सिकाइ अभिवृद्धिका लागि नगरपालिका भित्रका विद्यालयबीच स्वस्थ प्रतिस्पर्धाका साथै अनुभव आदान प्रदानको वातावरण बन्नुपर्ने उहाँको भनाइ छ।
नगरपालिकाले आगामी दिनमा पनि यस्ता प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।