राम बहादुर बिश्वकर्मा
प्युठान,नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा सोमबार प्युठानमा पत्रकारहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
बीमा कम्पनी र सेवाग्राही बीचका समस्या समाधान गर्न सहि सूचना प्रवाहको महत्त्वलाई जोड दिने उद्देश्यले कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा सहभागीहरुले विमा प्राधिकरण नियमन गर्ने निकाय भए पनि प्रभावकारी रुपमा नियमन नगरेको गुनासो गरेका छन।उनीहरुले विमा गर्ने बेलामा चिल्ला कुरा गरेर विमा गर्न लगाउने तर दावी भुक्तानीमा भने विभिन्न बहाना बनाएर अल्झाउने गरेको बताएका छन । जिवन विमा भन्दा पनि निर्जिवन विमा जटिल भएको भन्दै उनीहरुले यस्ता कम्पनीहरुको नियमन गर्न जरुरी रहेको बताए। नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका प्रमुख जमुना अर्यालले प्राधिकरणले दिने सेवालाई प्रभावकारी रुपमा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरिन।उनले सरकारका हरेक कार्यक्रमलाई बीमामा आवद्ध गरी नागरिकको आर्थिक सुरक्षा गरी जीवन यापन सहज बनाउन सकिने भन्दै त्यसतर्फ प्राधिकरण लाग्ने जानकारी दिइन।
कार्यालय प्रमुख अर्यालले बीमा कम्पनी र सेवाग्राही बीचका समस्या समाधान गर्न सहि सूचना प्रवाहको महत्त्वलाई जोड दिनुपर्ने भन्दै पत्रकारहरूलाई नागरिकको हितमा बीमाका बारेमा बोल्न र सत्यतथ्य लेख्न आग्रह समेत गरिन।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष श्रीराम भण्डारीले बिमा भुक्तानीको झन्झटिलो प्रक्रियाले नागरिक समस्यामा परेको बताउदै सरल प्रकारले भुक्तानी दिन आवश्यक रहेको बताएका छन्।
सरकारले दिगो बीमा नीति बनाई आफ्नो क्षेत्रको जोखिम पहिचान गरी विशेष वर्ग तथा क्षेत्रलाई लक्षित गरी कार्यक्रम तथा योजना निर्माण गर्न सकिने उनको भनाई थियो।
अन्तर्क्रिया कार्यक्रममा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशका सहायक निर्देशक निर्मल खनालले
सञ्चारकर्मीहरूसँग छलफल गर्दै केही बीमालेखमा समस्या रहेको बाहेक बीमा कम्पनीहरूले लाखौं दाबी भुक्तानी दिएको उल्लेख गर्दै भने,‘बीमा गर्दा बीमालेखका प्रावधान र शर्तहरू राम्रोसँग पढ्नुपर्छ, आफ्नो हितमा छ कि छैन बुझ्नुपर्छ,झुठो बोलेर तथा सत्यतथ्य लुकाएर गरेको बीमाको दाबी लाग्दैन भन्ने थाहा पाउनुपर्छ,विदेशी बीमा कम्पनीसँग बीमा गर्नु गैरकानूनी हो,गर्न मिल्दैन।’
उनका अनुसार नेपालमा अहिले १४ वटा जीवन बिमा,१४ वटै निर्जीवन बिमा,७ वटा लघु बिमा र २ वटा पुर्नबिमा कम्पनीले काम गरेको र बिमा कम्पनीको आधिकारिकता विषयमा जनता सजग जरुरी छ।
कार्यक्रममा बीमा क्षेत्रको विद्यमान अवस्था,बीमाको महत्व,लघु बिमा,बीमाको विकास एवम् विस्तारमा पत्रकारहरूको भूमिका बिमालाई ग्रामीण क्षेत्रमा पहुँच बढाउने,आर्थिक क्षति न्यूनीकरणको पूर्वतयारी लगायत बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुतीकरण गरिएको थियो।
विपदबाट हुने क्षति न्यूनीकरण,बिमा कम्पनीबाट कोही पीडित भएमा जिल्ला अदालत सरहको कानुनी उपचार पाउने प्राधिकरणको व्यवस्थाबारे पनि जानकारी गराइएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष श्रीराम भण्डारी,शाखाका निवर्तमान अध्यक्ष सन्जय रिजाल तथा पदाधिकारी,विभिन्न सञ्चार माध्यमका पत्रकार र बीमा कम्पनीहरूका प्रमुखहरूको सहभागिता रहेको कार्यक्रमको सन्चालन बलराम जि.सि ले गरेका थिए।
प्रतिक्रिया राख्नुहोस्