सीता बि.क
प्युठान,गौमुखी गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्ने र १ लाख पर्यटक भित्राउँने लक्ष्य सहित भ्रमण वर्षको शुभारम्भ गरिएको छ।
संस्कति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शनिबार उक्त भ्रमण वर्षको उद्घाटन गर्नुभएको हो।
भ्रमण वर्षको शुभारम्भ गर्दै मन्त्री बद्रीप्रसाद पाण्डेले गौमुखिमा लाखौ पर्यटक भित्र्याउन सकिने बताउनुभयो। गौमुखी पर्यटकका लागि भर्जिन क्षेत्र हो।यो क्षेत्र जैविक विविधताले भरिपुर्ण क्षेत्र मानिन्छ ’प्रचारप्रसार, पूर्वाधार विकास नहुनुलगायत कारणले यहाँ धेरै सम्भावना भए पनि पर्यटक आकर्षित हुन नसकेको उहाँ बताउनुहुन्छ। ‘भ्रमण वर्षमा लाखौं पर्यटक भित्र्याउन स्थानीय सरकारले त्यही किसिमको नीति र योजना बनाउनुपर्छ।’ पर्यटन विकासका धेरै सम्भावना छन् भनेर मात्र नहुने भएकाले प्रचारप्रसार र पर्यटकका लागि आवश्यक सेवासुविधा हुनुपर्ने उहाँको भनाई छ।
गौमुखी गाउँपालिकामा भ्रमण वर्षमा लाखौं पर्यटक भित्र्याउन तयारी भइरहेको गाउँपालिका अध्यक्ष बिष्णु गिरीले बताउनुभयो। ‘गौमुखिमा विभिन्न ऐतिहासिक,सांस्कृतिक,धार्मिक र रमणीय पर्यटकीय स्थल छन्,’ अध्यक्षले भन्नुभयो,‘भ्रमण वर्षमा बढीभन्दा बढी पर्यटक भित्र्याउने हाम्रो प्रयास हुनेछ।’ देशकै सुन्दर पालिका भएकोले सबैलाई भ्रमण को निम्तो समेत दिनुभएको छ।
गौमुखिमा मनोरञ्जन,धार्मिक, सांस्कृतिक, जैविक लगायत पर्यटनको प्रचुर सम्भावना छ। ऐतिहासिक,धार्मिक स्थल,बाइसमुल झरना, झाक्री ढुङ्गा,तामाखानी, नाङ्गी लेक, गुफा, रानीताल, गोद्रेचौर लगायतका थुप्रै महत्वपूर्ण पर्यटकीय गन्तव्य यहाँ छन्।
गौमुखी गाउँपालिकाको १८ औं गाउँसभाले गौमुखी भ्रमण वर्ष २०८२ मनाउने निर्णय गरेको र सोही अनुसार कार्यक्रम अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ।
त्यस्तै गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले स्थानीय पर्यटकीय क्षेत्रसँगै स्थानीय सोरठी, मारुनी,झ्याउरे,पञ्जेबाजा लगायत कला संस्कृतिको प्रवर्धन समेत हुने अपेक्षा गरिएकोे बताउनुभयो।उहाँका अनुसार पर्यटकका लागि अहिले गौमुखी नजिकै अर्खा गाउँमा होमस्टे समेत सञ्चालनमा आएको छ।
आन्तरिक पर्यटकलाई ट्रेकिङ सहित २-४ दिन गौमुखीका विभिन्न ठाउँमा घुम्ने वातावरण वनाउन भ्रमण वर्षले सहयोग गर्ने पालिकाको अपेक्षा छ ।
प्रतिक्रिया राख्नुहोस्