सीता बि.क
प्युठान,प्रतिबद्ध परियोजनाले बाढी,पहिरो र डुबान जस्ता मनसुनको समयमा आइपर्ने विपद्लाई न्यूनीकरण र व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा सन्चारकर्मी बिच छलफल कार्यक्रमको आयोजना गरेको छ। प्राकृतिक प्रकोपका कारणले वर्षेनी धनजनको क्षति उच्च हुँदै आएको छ।यो वर्षको मनसुन सक्रिय भइसकेको र विगतका वर्षहरूमा भएका क्षति र प्रतिकार्यहरूको अनुभवका आधारमा आवश्यक तयारी गरे सम्भावित क्षति न्यूनीकरण गर्न सकिने अवस्था रहन्छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सम्बन्धित निकायका साथै नागरिक समाज र सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण हुन्छ।
यसै सन्दर्भमा सन्चारकर्मी बिच यस वर्षको मनसुनी विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि तयारि,मौसमको पूर्वानुमान र पूर्वकार्यको अवधारणा,विपद र पत्रकारिता, उन्नत ग्रामीण सडक निर्माण र पहिरो व्यवस्थापन, विपद संवेदनशिल सामाजिक सुरक्षा,विपद प्रभावित निजि आवास पुर्ननिर्माण, पुर्नस्थापन तथा मर्मत अनुदान कार्यविधि-२०८१,विपद् जोखिम न्युनिकरण तथा व्यावस्थापन ऐन २०७४,ऐनका विशेषताहरु,स्थानिय तहमा विपद् जोखिम न्युनिकरण तथा व्यावस्थापन सम्बन्धि नितिगत व्यवस्थापन,समुदायमा आधारित विपद् जोखिम न्युनिकरण लगायतका विषयमा गरिएको हो।
कार्यक्रममा प्रशिक्षक सबिन नेपालले वि.सं.२०७० सालदेखी २०८० सालसम्म देशमा बाढीपहिरो,भारी वर्ष र चट्यांगमा परेर तीन हजार ५२ जनाले ज्यान गुमाएका छन्।नेपाल विपदको उच्च जोखिममा रहेको र वर्षेनी जनधनको क्षति हुँदै आएकोले यसलाई न्यूनिकरण गर्न पूर्व तयारी र पूर्व कार्यमा हामी सचेत हुन जरुरी रहेको बताउनुभयो।
अहिलेको प्रमुख आवश्यकता भनेकै सूचनाको पहुँच र जोखिम नियन्त्रणको पूर्व तयारी हो,”उहाँले भन्नुभयो।एनटीसी एनसेलजस्ता सूचना प्रवाह गर्ने संस्थाले एसएमएस पठाउने तर त्यो सूचनाको पहुँच सबै ठाउँमा नहुने उहाँको भनाई थियो । विपद्का बेला कसरी जोगिने भन्नका लागि नागरिकले समयमा नै सूचना प्राप्त गर्न आवश्यक रहेको उहाँले बताउनुभयो।यसका लागि एसएमएस अलर्टलाई धेरै ठाउँमा पुराउन र जारी गराउन जरुरी रहेको उहाँको भनाइ छ।त्यस्तै जनतालाई चाँडै सुरक्षित ठाउँमा सार्नुपर्ने, विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणमा वकालत गर्न, समुदायमा विपद् व्यवस्थापन सम्बन्धी जनचेतना फैलाउने कार्यक्रम गर्न जरुरी रहको उहाँले बताउनुभयो।
जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनमा विपद्को सम्भावना भन्दा पहिला सूचना पुर्याउन सके जोखिम केही हदसम्म नियन्त्रण हुन सक्ने पत्रकार महासंघका अध्यक्ष श्रीराम भण्डारीले बताउनुभयो।
सबै मिडियाकर्मीहरूले आफूलाई सुरक्षित राखेर समाचार सङ्कलन गर्न उहाँले अनुरोध गर्नुभयो। यसका लागि तत्काल प्रतिकार्य गर्न संयन्त्रहरू सबल हुन जरुरी रहेको र सामाजिक संघसंस्थाको ’र्यापिड रेस्पोन्स डेस्क’ खडा गर्न पर्ने उहाँले औल्याउनुभयो । सङ्कटको बेला सूचना पाए मात्र राहत कहाँ कहाँ गर्ने थाहा हुन्छ।पत्रकार महासंघको भुमिका के हुन्छ प्रष्ट हुनु जरुरी छ।विपद् आउने अवस्था नदिन सक्दैनौं तर नियन्त्रण र जोखिमबाट कसरी बच्ने र उद्धार गर्ने भन्ने सहकार्य गर्न अति आवश्यक रहेको उहाँको भनाइ थियो ।
त्यस्तै महासंघका पुर्ब अध्यक्ष गिरु प्रसाद भण्डारीले बिपत्तको समयमा सूचना प्रवाह गर्दा एकै किसिमले सुचना प्रवाह गर्दा फलदायी हुने बताउनुभयो।
बिपत्तका समयमा कसरी क्षतिग्रस्त क्षेत्रमा उद्धार पठाउने र दुर्गम क्षेत्रका मानिसलाई बाढी,पहिरोका बिरूद्ध कसरी तयारी अवस्थामा बस्ने भनेर सुसुचित गर्ने कुरामा प्राथमिकता हुनुपर्नेमा सचेत हुनुपर्ने बताउनुभयो।
त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जुनसुकै बिपत्तको समयमा सबैभन्दा पहिले स्थानीयनै जागरुक हुनुपर्ने बताउनुभयो।मनुसुन भित्रिए सङ्गै जिल्लाका सडकहरु अवरुद्ध हुने देखिएकाले त्यसको तयारी थालिएको बताउनुभयो।उहाँले सडक पूर्वाधार,स्थानीय तह,सडक डिभिजन कार्यालयलाई मेसिन उपकरण तयारी अवस्थामा राख्नेगरी व्यवस्था मिलाउन आग्रह गरिएको बताउनुभयो।
यो समय जोखिम न्युनीकरणबारे छलफलभन्दा पनि विपद्का पुर्व जानकारी दिने संयन्त्रलाई कसरी मजबुत बनाउने भन्नेतिर हुनुपर्ने सहभागीहरुको भनाइ थियो । कसरी क्षतिग्रस्त क्षेत्रमा उद्धार पठाउने र दुर्गम क्षेत्रका मानिसलाई बाढी,पहिरोका बिरूद्ध कसरी तयारी अवस्थामा बस्ने भनेर सुसुचित गर्ने कुरामा प्राथमिकता हुनुपर्नेमा वक्ताहरुको जोड थियो।कार्यक्रमा वक्ताहरुबाट आपद विपदको बेला पीडितलाई मनोवैज्ञानिक उपचार र परामर्शका बारेपनि सोच्नु पर्ने, गर्भवती महिला, अपाङ्ग र बालबालिकालाई प्राथमिकतामा राख्नुपर्ने,भुउपयोग योजना र मापदण्ड, पुर्वतयारी र प्रतिकार्यमा क्षमता अभिवृद्धि विपद पूर्वसुचना प्रणाली, विपद सम्बन्धी अध्ययन,अनुसन्धान र परीक्षण विपद व्यवस्थापनका नयाँ नयाँ प्रविधिको उपयोग जस्ता प्रतिक्रिया आएका थिए।
कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष श्रीराम भण्डारीले गर्नुभएको थियो।यसैगरी कार्यक्रमको सञ्चालन सचिव बासिदेव गिरीले तथा छलफलको सहजिकरण सबिन नेपाल,सालिकराम घिमिरे,हेमन्त दङ्गाल,सुसान्त नेपाल,मनोज बिक्रम सिंह र नेपाल र सन्जय रिजालले गर्नुभएको थियो। 
प्रतिक्रिया राख्नुहोस्