सीता बि.क
प्युठान,प्युठानको सरुमारानी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। 'स्थानीय स्वामित्व र सहभागितामा,पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता'भन्ने नाराका साथ सरुमारानी गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो।
खोपको माध्यमबाट रोगको रोकथाम,निवारण र उन्मुलन गरी शिशु,बाल,मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै बुधबार एक समारोहका बीच सरुमारानिलाई १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको हो ।
कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र संविधान सभा सदस्य धन बहादुर रायमाझीले पालिका अध्यक्ष झग बहादुर बिश्वकर्मालाई हस्तान्तरण गर्नुभएकाे थियो।
सो अवसरमा पालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो।
अध्यक्ष बिश्वकर्माले बालबालिकाहरूको सुरक्षित भविष्य निर्माणका लागि उनीहरूले प्राप्त गर्नुपर्ने सबै प्रकारका खोपसहित स्वास्थ्य सम्बन्धी सेवा समयमा नै उपलब्ध गराउनु पर्ने दायित्व प्रति आफूहरू प्रतिबद्ध रहेको बताउदै बालबालिकाहरूका लागि आवश्यक खोप तथा पोषणका कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गर्न उहाँले स्वास्थ्यकर्मीहरूलाई निर्देशन समेत दिनुभयो।
जनप्रतिनिधि,कर्मचारी,स्वयंसेविका सम्पुर्ण अभिभाबक लगायतको उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो।
त्यस्तै सरुमारानी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता चिन्त सोमै मगरले पालिका क्षेत्रमा रहेका सबै बालबालिकाहरूलाई समयमा नै खोप उपलब्ध गराउने दायित्वप्रति आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो।
बालबालिकाको स्वास्थ्य सुरक्षाविना स्वस्थ नागरिकको सामाजिक आवश्यकता पूर्ति गर्न नसकिने उहाँले बताउनुभयो।
सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझि बताउनुहुन्छ। रायमाझि भन्नुहुन्छ,"आफूहरूले पालिकालाई पूर्ण खोप सुनिश्चिततासहित दिगोपना घोषणाका लागि निरन्तर अभियानहरू सञ्चालन गरी राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिकाका ६ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो।"
पालिकाका अनुसार विगत एक वर्षको अवधिमा ५९ महिना भन्दा तलका १ हजार २ सय ३४ जना वालवालिकाले पुर्ण खेाप प्राप्त गरेका छन ।
गाउँपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाएनपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो ।
पालिका अध्यक्ष झग बहादुर बिश्वकर्माको अध्यक्षता स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीकाे स्वागत मन्तब्य बाट मा बहुउद्देश्यीय शभाहलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि संविधान शभा सदस्य धन बहादुर रायमाझी, प्रमुख प्रशासकिय अधिकृत त्रिबिक्रम खडकम र स्वास्थ्य कार्यालय प्युठानका तथ्यांक अधिकृत बसन्त पाेखरेल,सबै वडा अध्यक्षहरू,कार्यपालिका सदस्यहरू,मा्ध्यमिक विद्यालयका प्र.अ.हरू,वडा सदस्यहरु,स्वास्थ शाखाका कर्मचारीहरू,सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविकाहरू र आमा समुहका आमाहरूकाे उपस्थिति रहेको कार्यक्रमको सन्चालन पव्लिक हेल्थ नर्स सृजना नेपालीले गर्नुभएको थियो।
कार्यक्रममा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सहयोग गर्ने स्वास्थ्य बच्चाको अभिभाबक,उत्कृष्ट महिला स्वास्थ्य स्वयम् सेविका,खाेप सेवा प्रदान गर्ने स्वास्थ्य कर्मि,स्वास्थ्य संस्था प्रमुख लगायतलाई प्रशंसा पत्र र नगद सहित सम्मान गरिएको थियो।


प्रतिक्रिया राख्नुहोस्