राम बहादुर बिश्वकर्मा
प्युठान,अघिल्ला पुस्ताको दैनिक जीवनलाई सहज बनाउने घरेलु मेसिन कोल लोप भएको छ।दुई तीन दशक अघिसम्म यहाँका मानिसहरूको दैनिक जीवनमा प्रयोगमा आउने चिउरीको तेल निकाल्न प्रयोग गरिने काठबाट बनाइएका स्थानीय प्रविधिका मेसिनरुपी कोलहरु आज नेपालका ग्रामीण इलाकाबाट लोपहुँदै जान थालेका छन्। समयक्रमसँगै विकास भएका आधुनिक मेसिनबाट पेल्नेजस्ता कामहरु हुन थालेपछि काठका कोलहरु लोप हुन थालेका हुन्।
यसैबीच प्युठान नगरपालिका वडा नम्बर १० मरन्ठाना जसिधारामा रहेको चिउरी पेल्नका लागि बनाइएको काठको कोल पनि लोप हुने अवस्थामा रहेको छ ।२०६०–०६१ सालतिर स्थानीय अगुवाको सक्रियतामा बनाइएको सो कोल चिउरीको तेल र घीउको प्रयोगको अभावमा लोप हुने अवस्थामा पुगेको हो ।
तस्बिर :प्युठान नगरपालिका वडा नम्बर १० मरन्ठाना जैसिधारा स्थित लोपोन्मुख परम्परागत मेसिन चिउरी पेल्ने ‘कोल’
चिउरीको तेल र घीउको सट्टा बजारमा पाइने तेलको बढ्दो प्रयोगले कोल लोप हुन थालेको र अब चिउरीको नाम लिन छोडिएको स्थानीयहरुको बुझाइ रहेको छ।
अघिल्लो पुस्ताले प्रयोग गरेका घरेलु कोल केही वर्ष अघिसम्म ग्रामीण भेगका अधिकांश स्थानमा देख्न सकिन्थ्यो।दोबाटो,कुनै सार्वजनिक स्थल,भाङ्ज्याङ्, तथा मान्छेलाई सहज हुने बीचस्थानमा यस्ता मेसिन स्थापना गर्ने र गाड्ने प्रचलन थियो।
अहिले ती स्थानमा राखिएका अधिकांश कोलको संरक्षण हुन नसक्दा हराएको छ भने कतिपय जीर्ण बनेको प्युठान नगरपालिका वडा नम्बर १० का स्थानीय केशु गिरीले बताउनुभयो।उहाँले भन्नुभयो,‘प्रयोगमा नआएपछि हाम्रो पुर्खाले प्रयोग गरेका घरेलु मेसिन कोल संरक्षण पनि नहुने रहेछ ।
व्याट्री र विद्युतीय मेसिनबाट सञ्चालन हुने आधुनिक मेसिन भित्रिएपछि परम्परागत घरेलु मेसिन लोप हुँदैगएको उहाँको बुझाई छ।
करिब दुई दशकअगाडि सम्म चलनचल्तीमा आएका यी घरेलु सामग्री अहिले गाउँमा देख्न मुस्किल परेको छ।आधुनिक मेसिनको बढ्दो प्रयोग र विकासले गर्दा यी सामग्रीको प्रयोग र संरक्षणमा प्रयोगकर्ताले बिस्तारै कम गर्दै जाँदा अहिले ग्रामीण पहिचान नै मेटिन थालेको छ । कोल मात्र होईन समयसापेक्ष बढ्दो आधुनिकताले परम्परागतरुपमा प्रयोगमा आएका कुटानी–पिसानीका सामाग्री ढिँकी,जाँतो,ओखल,सिलौटासमेत बिस्तारै लोप हुँदैगएका छन् ।

प्रतिक्रिया राख्नुहोस्