काठमाण्डाै,महिला स्वास्थ्य स्वयंसेविकाहरूले कामका लागि आवतजावत गर्न सार्वजनिक गाडी निःशुल्क चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज एक कार्यक्रमबीच मन्त्रालय र यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँगबीच सम्झौता भएको हो ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक गाडीमा भाडा नलिने सम्झौता गरेका हुन्।सम्झौता कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेवीहरूलाई सहज रूपमा काम गर्ने वातावरण बनाउन यो पहल गरेको बताउनुभयो ।यस्तै कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक गाडीमा स्वास्थ्य स्वयंसेवीहरूलाई निःशुल्क यात्रा गर्न दिँदा यातायात व्यवसायीहरूको शिर उँचो भएको बताउनुभयो।कार्यक्रममा नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घकी अध्यक्ष वसन्ती महर्जनले नेपालभरका महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि आफ्नो जिल्लामा सार्वजनिक गाडी निःशुल्क चढ्न पाउने कुराको सम्झौता हुँदा खुशी लागेको बताउनुभयो ।महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निःशुल्क सार्वजनिक गाडीको सेवा कात्तिक १५ गतेदेखि शुरू हुनेछ।सम्झौताबाट ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने सरकारको विश्वास छ । निःशुल्क सार्वजनिक गाडी चढ्नका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोशाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने छ ।
प्रतिक्रिया राख्नुहोस्