राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ ।
विगतमा पुर्खाहरूले गर्दै आएको खेती नयाँ पुस्तामा जगाउन नसकिएको समयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन एकाई परियोजनाबाट अनुसन्धान थालेपछि चैते धान खेती विस्तारमा किसान हौसिएकाले चैते धानको उत्पादन क्षेत्र बढेको हो ।
जिल्लामा सुरुको बर्षमा ४०० रोपनी क्षेत्रफलमा चैते धान खेती गर्दै आएकोमा यो बर्ष सम्म २५ सय ८५ रोपनी क्षत्रफलमा चैते धान लगाइएको छ।
जिल्लामा यस वर्ष करिब ११ सय रोपनी क्षेत्रफलमा चैते धान रोपाई गरिएको प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजनाका प्रमुख चुमानसिह गिरीले बताउनुभयो ।
उहाँका अनुसार माण्डवी गाउँपालिका–५ स्थित पारथुंगा फाँट,सरङ्गबेशी फाट,धुवाङ्ग फाट, प्युठान नगरपालिका वडा नम्बर १० बडहारा,स्वर्गद्वारी नगरपालिका -३ बाटुलेमा यस वर्ष किसानले पहिलो पटक चैते धान लगाएका छन् । एक बाली मात्र धानखेती गर्दै आएका किसानले यसवर्ष चैते धान लगाएका हुन् ।
चैते धान खेतीले खाद्यान्न उत्पादनसँगै बाह्यबाट आउने चामल आयात प्रतिस्थापन गर्नमा सहयोग पुर्याउने उद्देश्य सहित धान जोनले विगत ४ वर्षदेखि चैते धानको क्षेत्र विस्तारमा कार्यक्रम गर्दै आएको छ"- कार्यालय प्रमुख गिरीले भन्नुभयो,“चैते धानको उत्पादन बढाउँन र क्षेत्र बिस्तारमा फरक रणनीति निर्माणमा लागेका छौं’,‘ किसानलाई सिचाईका लागि सहज होस भन्ने उद्देश्यले कार्यालय र बुटवल पावर कम्पनी बीचमा अहिले छलफल चलिरहेको छ। किसानलाई आवश्यक बिषय हामीले उपलब्ध गराउँनेछौं ।’
जिल्लामा पछिल्लो दुई/तीन वर्षयता चैते धान उत्पादन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ।गत बर्ष सम्म १४ सय ८५ रोपनी क्षेत्रफलमा चैते धान रोपाइँ भएकोमा जम्मा ४ सय ३१ मेट्रीक टन धान उत्पादन भएको थियो ।
जिल्लामा सिँचाइका सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसानले चैते धानलाई प्राथमिकता दिन थालेका छन्। चैते धान खेतीको क्षेत्र विस्तार भएसँगै उत्पादन पनि बढ्न थालेको छ ।
जिल्लाको प्यूठान नगरपालिका,ऐरावती गाउँपालिका, माण्डवी गाउँपालिका,मल्लरानी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा चैते धान खेती विस्तार हुँदै आएको छ।
यहाँ चैते धानका रूपमा चैत ५, हर्दिनाथ–१ सहित स्थानीय जातको धान रोप्ने गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्