सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको सूचना उपलब्ध गराउन जिल्ला प्रशासन प्युठानको अपील

सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको सूचना उपलब्ध गराउन जिल्ला प्रशासन प्युठानको अपील

सीता बि.क
प्युठान,जिल्ला प्रशासन कार्यालय प्युठानले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको सूचना वा प्रमाण उपलब्ध गराउन अपील गरेको छ।
गृहमन्त्रालयको पत्राचारपछि बिहीबार प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल ले निजी हक दर्ता भोगचलनमा रहेको बाहेकको सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको,ऐलानी,सन्धिसर्पन, गौचरन,घाट आदी जग्गाहरु कानुनविपरीत कसैले आफ्नो नाममा दर्ता गरेको वा खास उद्देश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहने गरी सुम्पेको वा जिम्मा दिएको सार्वजनिक र सरकारी जग्गाहरु बलजफ्ती अतिक्रमण वा कब्जा गरी निजी रुपमा दर्ता गरेका भए ७ दिनभित्र दिन भित्र कार्यालयको ईमेल daopyuthan2074@gmail.com मा सूचना  वा प्रमाण उपलब्ध गराउन अपील गरेका हुन्।
गत बुधबार देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेर गृहमन्त्रालयले सरकारी र सार्वजनिक जग्गा मिच्नेलाई कारबाही गर्न निर्देशन दिएको थियो। साथै गृहले सम्पूर्ण सार्वजनिक तथा सरकारी जग्गाको विवरण पठाउन र कुनै संघ संस्था वा व्यक्तिले मिचेर भोग चलन गरेको भए कारबाही गर्न पनि निर्देशन दिएको थियो। 
सोही पत्रअनुसार जिल्ला प्रशासन कार्यालय प्युठानले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको सूचना वा प्रमाण ७ दिनभित्र उपलब्ध गराउन सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले बताए ।

सुचनाको पुर्ण पाठ

सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण सम्बन्धी सूचना वा प्रमाण उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

नेपाल सरकार, गृह मन्त्रालयद्वारा मिति २०८० फागुन ९ मा जारी विज्ञप्ति अनुसार प्युठान जिल्लामा कसैको निजी हक दर्ता भोगचलनमा रहेको बाहेकको सरकारी वा सार्वजनिक स्वामित्वमा रहेको ऐलानी, गौचरन, सन्धिसर्पन र घाट आदि जग्गाहरु कानुन विपरीत कसैले आफ्नो नाममा दर्ता गरेको वा खास उद्देश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहने गरी सुम्पेको वा जिम्मा दिएका सार्वजनिक र सरकारी जग्गाहरु बलजफ्ती अतिक्रमण वा कब्जा गरी निजी रुपमा दर्ता गरेको, दाखिल खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको, लामो समयसम्म नियन्त्रण बाहिर रहने गरी लिजमा दिएको वा उद्देश्य विपरीत निजी कायम गरी गराई दुरुपयोग गरेको, सरकारी वा सार्वजनिक जग्गा दुरुपयोग गरी दर्ता श्रेष्ता कायम गर्ने गरी निर्णय गरेको र सोको आधारमा दाखिल खारेज गरेको वा हक स्वामित्व कायम गरेको वा त्यसरी कायम भएको स्वामित्वबाट विक्री वितरण गरेको, समय तोकी वा नतोकी भोगाधिकार सिर्जना गरेको, धितो बन्धक राखेको आदि जुनसुकै प्रकारको गैरकानुनी काम कारवाही सम्बन्धी सूचना वा प्रमाण भएमा आफूसँग भएको त्यस्तो सूचना वा प्रमाण ७ (सात) दिन भित्र यस कार्यालयमा वा कार्यालयको ईमेल daopyuthan2074@gmail.com मार्फत उपलब्ध गराई दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।


मितिः २०८० फागुन १७ गते ने.सं. ११४४ सिल्लागा,५ विहीवार

नारायण प्रसाद अर्याल
प्रमुख जिल्ला अधिकारी