शिक्षा नीति तथा रणनीति योजना बनाउदै माण्डबी  गाउपालिका

यादव पौडेल 
प्युठान,माण्डबि गाउँपालिकाले शिक्षा निति तथा रणनिति योजना निर्माण गर्ने भएको छ।शिक्षा क्षेत्रमा कार्यारत सबै सरोकारवालाको उपस्थितिमा शिक्षा सम्बन्धि निति तथा रणनिति योजना निर्माण गर्न लागेको हो।
शिक्षा क्षेत्रलाई सुधार गर्नको लागी माण्डबी  गाउँपालिका भित्रका सवै विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति,जनप्रतिनिधि लगाएत सरोकारवालाहरू बिच छलफल  आयोजना गरि शिक्षा सम्वन्धि निति तथा रणनिति योजना निर्माण गर्न लागेको हो।
राज्यको ठुलो लगानी रहेको शिक्षा क्षेत्रलाई सुधार गरि शिक्षा नीतिलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नका लागि नागरिक तथा सरोकारवाला निकायबाट सुझाब संकलन लाई आत्मसात गर्दै शिक्षा नीति तय गरिने उद्देश्यले उक्त कार्यक्रम गरिएको माण्डवी गाउँ पालिका अध्यक्ष नमराज अधिकारीले जानकारी दिनुभयो।
शिक्षाको बिषयमा संबिधानमा उल्लेख भएका व्यवस्था बारे एकरुप समझदारी कायम गर्ने,स्थानिय तहको अधिकार क्षेत्र भित्र रहेको माध्यमिक र आधारभुत शिक्षालाई ब्यबस्थित गर्नको लागी नयाँ नीतिले सहयोग पुग्ने सामाजिक विकास डिभिजन प्युठानका प्रमुख पुन्य प्रसाद न्याैपानेले बताउनुभयो।
नागरिकको मौलिक हक भित्र पर्ने शिक्षालाई प्रत्येक नागरिकको पँहुचमा पुर्याउने र गुणस्तरिय शिक्षा प्रवाहमा जोड दिनको लागी गुणस्तरीय शिक्षा नीति आवश्यक रहेको कार्यक्रमका सहभागीहरुले  बताएका छन् ।
मुलुक नयाँ संरचनामा विकसित भएकाले त्यसै अनुरुपको शिक्षा नीति लागु गर्नुपर्ने सहभागीहरुले सुझाव दिएका छन्।

त्यस्तै प्रमुख  प्रशासकिय अधिकृत प्रकाश पाण्डेले अबको शिक्षा मानवीय व्यवहारमुखी बनाइनुपर्ने बताउनुभयो। शिक्षा समाज विकासको आधार - स्तम्भ र धरोहरका रुपमा रहेको हुन्छ।उहाँले भन्नुभयो-"यसलाई समाजको बृहत्तर हित,परिवर्तन, अग्रगमन र विकासको मेरुदण्डको रुपमा सोचिनु र प्रयोग गरिनुपर्छ।"
गुणस्तरीय र प्रयोगमुखी शिक्षाले समाजको स्तरलाई बढाउँछ त्यसैले अबको शिक्षा नीति विकसित र समुन्नत समाजको निर्माणमा परिवर्तनशील,समृद्ध र विकसित किसिमको  हुनुपर्ने पाण्डेको तर्क छ।
शनिबार पालिकाको शभा हलमा सन्चालन गरिएको कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख तुलसा कार्किले गर्नु भयकाे थियाे।