राम बहादुर बिश्वकर्मा
प्युठान,हरेक बर्ष माघे सक्रान्तीको दिन लाग्ने प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना स्थित बाइसधारामा लाग्ने मेलाको तयारी पुरा भएको छ।
माघ १ गते आइतबारका दिन बाइसधारामा मेला लाग्ने प्युठान नगरपालिका वडा नम्बर ९ का वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष बिकास के सि ले यस स्थानमा रहेको बाइसधारा धार्मिक,सांस्कृतिक,पर्यटकीय,ऐतिहासिक हरेक दृष्टिले महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मेलामा हजारौको संख्यामा तीर्थयात्री आउने अनुमान गरेको बताए । मेला ब्यबस्थापनका लागि वडा कार्यलयले केही बजेट प्रदान गरेको उनको भनाई छ ।
प्रत्येक बर्ष माघे संक्रान्तिको अवसरमा यहाँ विशेष मेला लाग्ने गर्दछ। माघे संक्रान्तिको दिन प्रायःनदी,खोला,कुवामा गएर स्नान गरी शुद्ध हुने भएकाले यस स्थानमा पनि नुहाउनेहरुको उत्तिकै घुइँचो लाग्ने गर्दछ। बिगतका दिनमा स्थानीयकै सक्रियतामा माघीकै अवसरमा प्रत्यक वर्ष लोक नृत्य,धनुषवाण प्रतियोगिता,मारुनी नाचगान गरी तिर्थालुहरुलाई मनोरञ्जन प्रदान गरिदै आएको र यस बर्ष वडा कार्यलयले आफै मेला सन्चालन हुने सुन्नमा आएको स्थानीय अन बहादुर भण्डारी बताउँछन्।
स्थानीय तथा समाजसेवी दिन बहादुर जि सि ले प्युठान नगरपालिकाको मुटुमा रहेको यस स्थानमा प्रत्येक वर्ष स्थानियको सक्रियतामा माघे सक्रान्तीको विशेष मेला लाग्ने बताउँदै यसको समग्र विकासका लागि प्युठान नगरपालिका र स्थानीय बासिन्दाको सहकार्य र समन्वय आवश्यक रहेको बताए । वाइसधारामा स्नान गरेर विभिन्न सास्कृतिक कार्यक्रम गर्ने प्रचलन भएको उल्लेख गर्दै बाइधाराबाट विभिन्न मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले पनि यसको विशेष महत्त्व रहेको उल्लेख गरे उनले यसको समग्र बिकासमा आफू लागिपरेको बताए ।प्युठानको बाग्दुला मच्छी सडक खण्ड मरन्ठाना खरिबोट देखि पुर्ब तर्फ प्युठान नगरपालिकाको सङ्गमस्थलमा पर्ने पर्यटकीय क्षेत्र बाइसधारा बुलबुले मुल विभिन्न फलफुल,कृषि उत्पादन तथा धार्मिक हिसाबले महत्वपूर्ण छ । समुद्री सतहदेखि झण्डै ३ हजार ५ सय मिटरको उचाइमा अवस्थित पर्यटकीयस्थल बुलबुले आसपासको क्षेत्रबाट मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन्,निकै आकर्षक,मनमोहक र सुन्दर दृश्य देखिने बार्है महिना अविरल रुपमा बुलबुल गर्दै हिउँदमा तातो र गर्मी याममा चिसो निस्कने पानी २२ ढुङ्गे धाराबाट झरेको पानी पर्यटकीय गन्तव्य बनाउन जरुरी देखिन्छ।
पर्यटकीय स्थल बाइसधारा बुलबुलेबाट धौलागिरि,अन्नपूर्ण,मरेङ्गको राजागुफा,सुन्तला,कमला,बुढिदेबी मन्दिर,शिबालय मन्दिर लगायत मनोरम हिम श्रृङ्खलाको दृष्यावलोकन गर्न पाइन्छ। पर्यटकीय क्षेत्र आफैमा सुन्दर क्षेत्र त छँदैछ त्यसमा पनि बुढादेबी स्थित चिसापानीमा बार्है महिना स्थानीय माछापालनका लागि बनाइएका पोखरीमा माछा लरिबुरी गरेको देख्दा झन् सुन्दरता थपेको छ ।
प्राकृतिक र सांस्कृतिक विविधतामा धनी भए पनि यस क्षेत्रको बजारीकरण गर्न नसक्दा पर्याप्त फाईदा लिन नसकेको जानकारहरुको बुझाई छ ।
पौराणिक महत्त्व,प्राकृतिक सौन्दर्य,भौगोलिक विविधता र ऐतिहासिक धार्मिक,पुण्यभूमि प्युठान नगरपालिका मरन्ठाना अन्तर्गत पर्ने बाइसधाराको महत्त्व पछिल्लो समयमा व्यापक रुपमा चर्चामा रहेको छ।

प्रतिक्रिया राख्नुहोस्