जन्मदिनको अनगिन्ती शुभकामना  श्रीमान तिमीलाई !!

सानू गुल्मेली 

आज त तिम्रो जन्मदिन,यो सुन्दर र विशाल मानव सङ्ग्राहलयमा तिमीलाई मानवको रुप दिएर अवतरण गराउने तिम्रा माता पितालाई हार्दिक नमन गर्दछु ।जसले आफ्नो  आधा जीवन  समाप्त गर्दै सन्तानको प्यार ,स्नेह खातिर हर खुशीमा तिलान्जली दिदै प्यारमा निमग्न हुँदै थुप्रै हिउँद, बर्षा धकेलिदियो,खुशीका आशुँले नयन टलपलायो ती तिम्रा बाआमालाई नसम्झने हो भने त मैले उहाँहरुमाथी ठूलो अपमान र अन्याय गरेको ठहर्छ नै।तिम्रा माता पिताको संयोजनको प्रतिफल तिमी हौं।यदि उहाँहरुले तिमीलाई जन्म नदिएको भए एउटि नारीको  यो खुशी यो सुन्दर संसार कसरी सम्भव थियो  र ? त्यसैले त बारंबार उहाँहरुलाई धन्यवाद दिइरहन्छ मेरो आत्माले।हुन त  तिम्रो पालन पोषण शिक्षा दिक्षाको लागि  उहाँको त्यो दु:ख त यी अक्षरले समेट्दैन तर पनि उहाँहरुको तारिफ नगरी मनले मान्दैन।जब तिम्रो र मेरो मिलन भयो त्यो पछिको यात्रा भिन्न थियो ।सन्तानोत्पादन गर्ने  देखि बस्ने बास,खाने गाँसको जुहाड त हामीले आफै गर्यौ,आफ्नो यात्रा तय गर्यौ,त्यसमा तिम्रो र मेरो भूमिका  समान छ तर पनि  एउटि नारीले पराई घरमा पाएका सास्ती नै उसको निखारता रहेछ ।
     

श्रीमान श्रीमतीले  निकै संघर्ष गरेर करोडौंको सम्पत्ति आर्जन गरे  पनि मुख्य अनमोल सम्पत्ति भनेको श्रीमान हो।त्यो अनमोल  सम्पत्ति कमाएर हस्तान्तरण गर्ने तिम्रा बाआमा हुन। त्यसैले  हामीले आर्जन गरेको  भौतिक सम्पत्तिको कुनै औचित्य हुँदैन तिम्रा बाआमाको तुलनामा ।हेर डल्याबा नारीले  पराई घरमा निकै कष्टसाथ सम्पत्ति नाता सम्बन्ध त आर्जन गर्छन् नै तर त्यो भन्दा खरबौं गुणा महत्त्व त तिनै सासूससुराको छोरा नै हो।त्यसैले तिम्रा बाआमाको तुलना आफुले आर्जित कुनै भौतिक वस्तुसँग गर्न मिल्दैन ।

खाएर नखाएर घर,घडेरी,सुन्दर महल,गाडी,धन दौलत,ऐस आराम त श्रीमान श्रीमतीको हातेमालोमा जोरिए होलान् तर त्यो भन्दा माथिको अमुल्य उपहार तिमी लाई जोरिदिएका त तिम्रै बाआमा त हुन् नि डल्याबा तिम्रो जन्मदिनको दिनसम्म घर आउने उद्देश्यले बसको टिकट लिएकी थिए तर प्रतिकुल मौसमको कारणले पूर्व  पश्चिम राजमार्गमा चल्ने गाडी नै बन्द भए त्यसैले अघिल्लो दिनको टिकट क्यान्सिल गरें।तिम्रो जन्मदिनसम्म   जसरी तसरी भए पनि  घर पुग्छु।तिमी घरमा एक्लै छौ भनेर फेरि हिजको टिकट लिएर नाईट गाडी चढें।यो बर्षामासको बाटो माथी हेर्यो कृष्ण भिर दर्कने झरिले धाजाफाटेर ग्वाम्म बसनै अंगालो मार्न  आउँछ कि जस्तो।तल हेर्यो त्रिशुली को त्यो बैँस बिचमा चिप्लेटि खेल्ने जस्तो बाटो,लरर्क्क गाडी लर्कियो भने झ्वामा पौडिदा भुस्लुङ्ग पार्न आँ गरेर बसेकी रौद्र र भयानक रुपकी   त्रिशुली,कम्ता डर नलाग्ने तर पनि तिम्रो जन्मदिन भेटाउने रहरले उराल्नु उराल्यो।यता घरतिरबाट जेठा जेठाजुले  प्लेनमा आउ म अनलाईन टिकट ल्याईदिन्छु भन्दै हुनुहुन्थ्यो।उता बालेन शहरमा बस्ने सासू जेठाजु जेठानी आशा दिज्जु,छोराछोरी  सबैजनाले यस्तोमा जानुहुदैन भन्दै हुनुहुन्थ्यो।आकास बाट चिलगाडिमा  उडेर आउँ भने झनै डर लाग्ने,गुडेर आउँ बाढी पहिरोको झनै डर  तै पनि जेन तेन तिम्रो जन्मदिनको दिन मध्यान्न सम्म त घर आईपुगे तर तिमी आफ्नो काममा गईसकेकोले भेटेर Happy birthday   भन्न पाएकी छैन । अरुत के दिन सक्थेर यत्रो सारा जीवन तिमीलाई नै दिए तर पनि आज तिम्रो जन्मदिनको दिन  सानो फूल पनि उपहारको रुपमा तिम्रो हातमा थमाई दिन पाए कि छैन हुन त यो पत्र घरमा नै आईपुगेर लेख्दै छु।उमेरमा तिमीलाई पत्र लेख्ने अवसर नै पाईन । सुन न डल्याबा  हुन त तिमी मेरो भिनाजुको रोजाईको मान्छे हौ मेरी साली यतिको मान्छेलाई दिदा ठिक हुन्छ भन्ने यकिन गरेर मलाई तिम्रो हातमा सुम्पिदिएका थिए ।क्यार्नु जसरी तसरी   सुख दु:ख गर्दै यहाँनेर सम्म आईपुग्यौ अझै यसरी युगौं युगसम्म तिम्रो जन्मदिनको उपहार स्वरुप पत्र लेख्न पाउँ भन्दै पुन  तिमीलाई जन्मदिनको अनगिन्ती शुभकामना सुस्वास्थ्य दिर्घायुको कामना सहित बिदा हुन चाहान्छु ।

उहीँ तिम्री अर्धाङ्गिनी 
सानू 
२०८१/५/७
प्यूठान