गरिबी निवारणको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न 

अजय बि.क
प्युठान,प्युठान नगरपालिका वडा नम्बर –२ क्वाडिमा गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय जनप्रतिनिधि र सरोकारवाला नागरिकहरुलाई कार्यक्रमबारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । 
प्युठान नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले लघु,घरेलु तथा साना उद्योगको विकास र विस्तार अहिलेकाे आवश्यकता रहेकाले सीप सिकाएर उद्यमी सृजना गर्नेसँगै दिगाे आर्थिक विकास हुने धारणा व्यक्त गर्नुभयो। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट नगरपालिकामा नयाँ उद्यमी सृजनाका कार्यक्रम निकै प्रभावकारी हुने उहाँको भनाई छ।कार्यक्रमका अध्यक्ष तथा प्युठान नगरपालिका २ का अध्यक्ष मुक्ति पोख्रेलले कार्यक्रम सञ्चालनको लागि उक्त वाड छनौट भएकोमा खुशी व्यक्त गर्दै कार्यान्वयनको क्रममा सहकार्य गरेर अगाडि बढ्ने समेत प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रमअन्तर्गत लक्षित समूहको चाहना तथा माग, बजार सम्भावना तथा स्थानीय श्रोतको उपलब्धताको आधारमा उद्यमशिलताको विकास गरिने उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले बताउनुभयो ।
साथै उद्यमी सिर्जना गरी उद्यम स्थापनाको लागि आवश्यक एकिकृत सेवाहरु प्रदान गर्ने र स्थानीय स्तरमा नै रोजगारी सिर्जना गर्ने उद्धेश्यले उक्त कार्यक्रम सञ्चालन गरिने समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रमको लक्ष उद्देश्य,मेड मोडेल लगाएतका विषयमा जानकारी गराइएको थियो।कार्यक्रमको सहजीकरण उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्मा र बिन्दु के सिले गर्नुभएको थियो ।