उपभोक्ता,बस्तु र स्वास्थ्य
शान्तराज गौतम
हामीले उपयोग गर्ने हरेक बस्तुको बारेमा जानकारी लिनु प्रत्येक उपभोक्ताको हक अधिकार हुन्छ । अझ यो महामारी को समयमा यस सम्बन्धी जानकारी लिन अति आवश्यक छ । राज्यमा संकट देखिएको, नागरिक समाज सुस्ताएका, राजनीतिक अस्थिरता रहेको बेला र महामारीमा कालोबजारी र विचोलिया सलबलाउने गरेको नागरिकलाई थाहै छ । केहि व्यापारी वर्ग यहि मौका छोपेर मनग्य कमाउने सपना देखेर बस्तुमा मिसाउट गर्ने, गुणस्तरहिन, मिती गुज्रिएका सामाग्री विक्री वितरण गर्ने गर्छन । बिषम महामारीमा हामी उपभोक्ता सचेत र सजग हुन सकेनौ भने हाम्रो स्वास्थ्यमा गम्भीर असर पुग्छ नै, ठगिने पनि सम्भावना हुन्छ । हाम्रो बजारमा अहिले पनि विल जारी नगर्ने अर्काे समस्या पनि हामी उपभोक्ताले भोगेका छौ । केहि व्यापारीले विल दिनै मन नगर्ने, मागिहाल्नु भयो भने पनि अमिलो मुख बनाउँदै रफमा लेखेर दिने, अधिकांश उपभोक्ताले विल लिने बारेमा चाँसो पनि नलिने प्रचलन यावत नै छ । यस कार्यले पनि उपभोक्ता ठगिने सम्भावना हुन्छ ।
उपभोक्ता ठगिएका उदाहरण नियाल्दा नक्कली र अबैध सेनिटाईजर विक्री गरेको, खाद्य वस्तुमा मिसावट गरेको जस्तै दुधदहिमा सोडापानीको मिसावट, बेसारमा पिठो, ध्युमा डाल्डा, तोरीको तेलमा पामोलिन तेल, विषाक्त मिष्ठान बिक्री इत्यादी हामी सुन्दै आएका छौ । बजार मूल्य आफुखुसी बढाउने जस्तै लकडाउन भन्दा पहिले प्रति केजि ८५ चिनी लकडाउनमा ९०-९५, खानेतेल पहिले प्रतिलिटर २२० लकडाउनमा २७०,कम तौलको फलामे छड विक्रि, सिमेन्टमा चिम्नी इट्टाको खरानी मिलाउनु, विउविजनमा पनि यसै गरी आफुखुसी मूल्य निर्धारण गर्ने, रोपेको धान मकैमा फल नलाग्नु जस्ता सामाचार सुनेकै छौ ।
यसरी मिसाइएका खानेकुरा प्रयोग गर्दा बान्ता हुने, आँखामा असर, पाचन क्रियामा असर, दिमाग, मृगौलालगायत अन्य अंगमा गम्भीर असर हुनसक्ने, मुटुमा समस्या उत्पन्न हुने, उपचार गर्दा औषधिको असर नहुने, मृगौलामा पत्थरी, मूत्ररोगका साथै मृत्युसम्म हुन सक्ने कुरा विज्ञहरुले बेलाबेला जानकारी दिदै आएका छन् ।
आम रुपमा उपभोक्ता ठगिन बाट के बच्न सकिदैन त ? राज्यको संयन्त्रबाट कानुनी उपचारको बाटो छदैछ तर संग संगै हामी उपभोक्ताले बस्तु किन बेच गर्दा स्वतःस्फुर्त केहि उपाय अवलम्बन गरे अवश्य ठगिनबाट बच्न सकिन्छ । हाम्रो भान्सामा प्रयोग हुने खाद्यबस्तु देखि दैनिक उपयोग गर्ने अन्य सम्पुर्ण सामाग्री हरुमा हरेक नागरिक अर्थात उपभोक्ताको सहज पहूँच, प्रतिस्पर्धाका आधारमा मूल्य निर्धारण र छनौटको अधिकार रहनु पर्दछ । उपभोक्ताले वस्तुको खरिद गर्दा वस्तुको मूल्य, परिमाण, गुणस्तर मापन चिन्ह अंकित भए नभएको, शुद्धता, प्रयोग मिती आदिका बारेमा जानकारी लिनुपर्दछ । दुई वा दुई भन्दा बढि पदार्थको समिश्रणबाट बनेको वा उत्पादित वस्तुमा रहेका त्यस्ता पदार्थको मात्रा, तत्व वा प्रतिशतको बारेमा उल्लेख भए नभएको एकिन गर्नुपर्दछ । विल लिने दिने कार्य अनिवार्य गराईनुपर्दछ । अनुचित व्यापारी तथा व्यवसायजन्य क्रियाकलाप गर्नेहरुलाई कानूनी कारवाही गराउन र उपभोक्तालाई क्षतिपुर्ति दिलाउन राज्यका संयन्त्रलाई सहयोग गर्नुपर्दछ । अन्य समय,महामारी वा संकटमा मानव जीउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानि पुर्याउने वस्तुको बिक्री वितरण रोकी उपभोक्तालाई सुरक्षित भई उपभोक्ताको हक, हितको संरक्षणमा लाग्नु तपाई हामी सबैको कर्तव्य हो ।
प्रतिक्रिया राख्नुहोस्