प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर विवादास्पद भनाई राखिरहेका छन् । उनले सोचविचार र योजनामै यी सबै गरिरहेको स्पष्ट छ । किन उनले यसो गरिरहेका छन् भन्ने एक जिज्ञासामा जनता समाजवादी पार्टीको नेता नवराज सुवेदीको प्रतिक्रिया यस प्रकार छ । ओली आज आफ्नै पार्टीभित्र अल्पमतमा छन् । परिस्थितिलाई मोडेर आफूलाई बलियो बनाउन चाहन्छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्नु पर्ने माग पार्टीभित्र सशक्त भएपछि उनले अनेक हत्कण्डा प्रयोग गरिरहेका छन् । भानु जयन्तीको अवसरमा भानुभक्तको बारेमा बोल्नुको सट्टामा राम र अयोध्याको तथ्यहीन कुरा गरेर विवादित भएका छन् । सुवेदीका अनुसार ओलीले राष्ट्रवादलाई आफ्नो रक्षाकवज बनाउन खोजका हुन् । विगतमा नाकाबन्दीको विरोध गर्दा उनलाई राजनीतिक लाभ भयो ।
त्यो लाभबाट उनी हौसिएका छन् । राष्ट्रवादी देखाएर आफूलाई बलियो बनाउन खोजिरहेका छन् । यो उनको प्रत्युत्पादक सोचाई हो । अर्को भनेको ओलीले आलोचना पटक्कै सहन सक्दैनन् । यो उनको ठूलो कमजोरी हो । प्रधानमन्त्री जस्तो जिम्मेवारी बहन गरेको मान्छेले बढी प्रतिक्रियात्मक हुनु हुँदैन । उनले यो प्रवृत्तिलाई सच्याउनु पर्छ । अयोध्या र रामको विवादास्पद भनाइ राखेर उनी झनै रक्षात्मक भएका छन् । पार्टीभित्र उनीमाथि झनै दबाब बढ्ने देखिन्छ । जनताको तहमा पनि विरोध भइरहेको छ । भारतमा पनि विरोध भएको खबर आएका छन् । यसले दुई देशबीचको सम्बन्धमा दरार पैदा गर्छ । ओली शारीरिक रुपमा कमजोर छन् । शारीरिक कमजोरीको प्रभाव मानसिक अवस्थामा परेको पनि हुनसक्ने सुवेदीले बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्