प्युठान : कोरोना नियन्त्रणमा ९ ओटा स्थानिय तहको खर्च १२ करोड भन्दा बढी

प्युठान : कोरोना नियन्त्रणमा ९ ओटा स्थानिय तहको खर्च १२ करोड भन्दा बढी

मधुसुदन पोख्रेल
प्युठान,विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि प्यूठानका स्थानीय सरकारहरु लागि परेका छन् । जिल्लाका नौ वटै स्थानीयतहहरुले पालिका भित्र क्वारेन्टिन निर्माण गर्न, आइसुलेसन कक्ष निर्माण गर्न , स्वाव संकलन , आरडिटी ,पिसीआर परीक्षण गर्न देखि लिएर भारत तथा तेश्रो मुलुककमा रहेका आफ्ना नागरीकहरुलाई उद्धार गरिरहेका छन् । नागरीकहरुलाई उद्धार गर्दा आलोचना होस या प्रशंसा जस्तो सुकै कुरामा पनि काम गर्नका लागि नगर तथा गाउँपालिकाहरु देखि वडा कार्यालय सम्मका जनप्रतिनिधिहरु सकृय देखिएका छन् ।
स्थानीय तहहरुले संचार माध्ययमबाट सन्देश मुलक सुचना प्रशारण गरेर होस वा टोलटोलमै माइक बजाउदै होस रोकथामका लागि सकृय भएर लागि परेपनि विभिन्न सामाजिक संजालमा नागरिकको गुनासो र आक्रोस पनि जनप्रतिनिधीहरुले खेप्नै परेको छ । जस्तो सुकै परिस्थितीमा पनि स्थानीय सरकार नागरिकका लागि खटिएको देख्न पाईन्छ । तर जटिल परिस्थितीमा कोरोनाको नाममा पालिकाहरुले मोटो रकम खर्च गरेको देखिएको छ । नागरिकका लागि राहत वितरण, आरडिटी टेष्ट, पिसिआर टेष्ट,क्वारेन्टिन व्यवस्थापन खर्च आइसोलेसन व्यवस्थापन खर्च , गाडी भाडा, जस्ता शिर्षकमा नौवटै स्थानीय सरकारले असार मसान्तसम्म कोरोना नियन्त्रण तथा व्यवस्थापन खर्च निकालेका छन् ।

कुन तहको कती खर्च ?

नेपाल भारतको सिमा क्षेत्रबाट नागरिकहरु ल्याउने क्रममा आफ्नै पालिकाको फोहोर बोक्ने टिप्परमा नागरिक बोकेको प्यूठान नगरपालिकाले सामाजिक संजालमा टिका टिप्पणी धेरे भएता पनि कोभिड रोकथाममा नागरिका लागि सकृय भएर काम गरेको बताएको छ । कोरोना रोकथाम तथा न्यूनिकरण व्यवस्थापन खर्च प्यूठान नगरपालिककाको असार मसान्त सम्म १ करोड ७० लाख ५४ हजार चार सय ४६ रुपैया खर्च भएको प्रशासकिय प्रमुख यज्ञबहादुर बुढाले जानकारी दिए । कोभिडका लागि रकम खर्च भइराखे पनि यो आर्थिक वर्षको अझै हिसाब भुक्तान नभएको बुढाको भनाई छ । कोरोनाको जोखिम अझै भएकाले सुरक्षाका लागि प्यूठान नगरपालिकाले नागरिकका लागि सचेत अभियान र परिक्षण कार्य गरिरहेको उनको भनाई छ ।
कोभिड रोकथामका लागि स्वार्गद्धारी नगरपालिका पनि धौडधुपमा छ । प्यूठान नगरपालिका जस्तै स्वार्गद्धारी नगरपलिका पनि नागरिकको सुरक्षामा अग्रसर देखिन्छ । स्वर्गद्धारी नगरपलिकाले कोरोना खर्च भाद्र मसान्त सम्म कै निकालेको छ । भाद्र मसान्तसम्म २ करोड २६ लाख ७६ हजार ४ सय ३२ रुपैया खर्च भएको प्रशासकिय प्रमुख प्रेमप्रसाद आचार्यले बताए । त्यस्तै नौबहिनी गाउँपालिकाले पनि असार मसान्तसम्म १ करोड २८ लाख ६१ हजार २ सय ९३ रुपैँया १४ पैसा खर्च भएको पालिकाका प्रशासकिय प्रमुख थानेश्वर भन्डारीले बताए । त्यस्तै सरुमारानी गाउँपालिकामा पनि ६२ लाख २१ हजार २ सय ६३ रुपैँया खर्च भएको सुचना अधिकारी लक्ष्मण आचार्यले बताए ।
त्यस्तै झिमरुक गाउँपालिकाको यातायात क्वारेन्टाइन, खाना पिसिआर टेष्ट,आरडिटि टेष्ट लगाएत शिर्षकमा आर्थिक वर्ष ०७६।०७७ को असार मसान्तसम्म १ करोड ११ लाख १४ हजार ६ सय ७९ रुपैया खर्च भएको प्रशासकिय प्रमुख कमलद भुसाप्रसाद भुसालले जानकारी दिए । त्यस्तै मल्लरानी गाउँपालिकामापनि कोभिड रोकथाम तथा न्युनिकरणका लागि असार मसान्तसम्म ६५ लाख ७९ हजार ४ सय ९१ रुपैया खर्च भएको प्रशासकी अधिकृत बालकृष्ण थापाले जानकारी दिए । जोखिम अझै कायमै रहेकाले नगरिककका सुरक्षाका लागि सकृय भएर लागेको उनको भनाई छ ।
त्यस्तै गौमुखी गाउँपालिकामा पनि असार मसान्त सम्म कोरोना रोकथाम तथा व्यवस्थापनका लागि ७८ लाख ८ हजार ७ सय ६३ रुपैँया खर्च भएको प्रशासकिय प्रमुख राजिव पन्थीले जानकारी दिए ।
उता कोरोना रोकथाम तथा नियन्त्रणका लागि माण्डवी गाउँपालिका पनि सकृय देखिएको छ । सबै भन्दा बढी पिसिआर टेष्ट गराएको माण्डवी गाउँपालिकामा असार मसान्तसम्म १ करोड ६४ लाख ३ हजार ९ सय ९३ रुपैँया खर्च भएको प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले बताए । उता ऐरावती गाउँपालिकामा पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि असार मसान्तसम्म १ करोड४९ लाख २७ हजार ९ सय २७ रुपैया खर्च भएको लेखा अधिकृत राम बहादुर बस्नेतले जानकारी दिए ।