नेकपाको सत्ता सङ्घर्षमा ‘पर्ख र हेर’को रणनीतिमा विपक्षी

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सत्ता सङ्घर्ष उत्कर्षमा पुगेका बेला विपक्षीबीच मोर्चा कसिलो बनाउने सहमति भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र नवगठित जनता समाजवादी पार्टीबीच पछिल्लो राजनीतिक तथा समसामयिक घटनाक्रमका विषयमा मङ्गलबार छलफल भयो । सोमबार साँझ जसपाका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस उपसभापति विमलेन्द्र निधिलाई फोन गरेर छलफलका लागि आग्रह गरेका थिए । निधिले मङ्गबार बिहान ९ बजे काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा छलफलका लागि वातावरण तय गरे ।छलफलमा काँग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उसभापति निधि, नेता कृष्णप्रसाद सिटौला र जसपाबाट अध्यक्ष महन्थ ठाकुर, यादव, वरिष्ठ नेता डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राईको सहभागिता थियो ।सोमबार केन्द्रीय समिति बैठकबाट पछिल्लो घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको काँग्रेसले मङ्गलबार जसपासँग छलफल गरेर विपक्षी दृष्टिकोण तय गरेको हो ।विशेषतः हठात बजेट संसद् अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा काँग्रेस र जसपा एक ठाउँमा उभिने निष्कर्ष छ । सभामुख र संसदमा रहेका राजनीतिक दलहरुको परामर्शविपरीत प्रधानमन्त्री ओलीले असार १८ गते संसद् अधिवेशन अन्त्य गरेका थिए । कोरोना, सलह, बाढी, पहिरोबाट सिर्जित चुनौती सामना गर्न प्रस्तुत सङ्कल्प प्रस्ताव, एमसीसी, नागरिकता विधेयक, निजामती कर्मचारीको सेवा शर्तसम्बन्धी विधेयक र नेपाल विशेष सेवा विधेयकबारे निश्चित टुङ्गोमा नपुगी अधिवेशन अन्त्य गरिएमा काँग्रेस जसपाबीच छलफल भएको थियो ।सङ्कल्प प्रस्ताव विधेयक यही अधिवेशनमा छलफलका लागि दर्ता गराइएको थियो भने एससीसी र उक्त विधेयकहरु पनि यही अधिवेशनबाट पारित गर्ने तयारी थियो ।नेकपाको आन्तरिक कलह र दम्भले प्रधानमन्त्रीले हठात् संसद् अधिवेशन अन्त्य गरिएको उनीहरुको निष्कर्ष छ । तर सरकारको कदमको विरोध गरेको काँग्रेस र जसपाबीचको बैठकले आफूले चाल्ने कदमबारे भने निर्णय लिएन । केही दिनमा अर्को बैठक बस्ने उपसभापति निधिको भनाइ छ । 
उनले भने, ‘यस्तो बेलामा संसद् अन्त्य गरिनु आपत्तिजनक हो । यो लोकतान्त्रिक संसदीय प्रणालीको खिलाप हो । प्रतिपक्षीहरुले समसामयिक राजनीति घटना क्रम, अन्तर्राष्ट्रिय सम्बन्धमा ओली सरकारको अपरिपक्व भूमिकाबारे छलफल भएको हो । 
यसले देशभित्रको राजनीतिक परिस्थितिलाई पनि गम्भीर तुल्याइदिएको छ । कोरोनाको अवस्था पनि गम्भीर छ । अर्थतन्त्र पनि गम्भीर छ । भ्रष्टचार अनियन्त्रित अवस्थामा पुगेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध पनि जटिल मोडमा पुर्याइएको छ । बढो गम्भीर अवस्था भयो भनेर हामीले चिन्ता व्यक्त गर्यौँ । फेरि भेटघाट गर्ने समझदारी छ ।’समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार छलफलमा पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा भएको थियो ।सरकारका कारण सबै क्षेत्र डामाडोल हुने अवस्थामा पुगेको छलफलको निष्कर्ष रहेको उनको भनाइ छ ।विषम परिस्थितिमा जनताका मुखमा ताला लगाउने काम भएको माहतोको बुझाइ छ  । अब के गर्ने भन्ने विषयमा गम्भीर रूपमा छलफल गरेर कदम चालिने उनले बताए । उनले भने, ‘सरकारी पक्षले यस्तो वितन्डा मच्चाएपछि प्रतिपक्षी बसेर समीक्षा गर्नुपर्छ भन्ने हामीलाई भयो । काँग्रेसले पनि छलफल गर्न खोजको रहेछ । हामी दुईवटैको एउटै विचार मिल्यो ।’ दुवै पक्षले छलफलको महसुस पनि गरेका थिए ।

महतोका अनुसार नेकपा विवादमा जोडिएको चिनियाँ राजदूतको सक्रियताको विषयलाई पनि विपक्षीले गम्भीरताका साथ हेरिरहेको छ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध पनि ठीक ढङ्गले विकसित हुन नसकेको काँग्रेस र जसपाको बुझाइ छ ।यता काँग्रेस नेता सिटौलाले समसामयिक राजनीतिक परिस्थितिबारे सामान्य छलफल भएको बताए ।देउवाको भनाइ उद्धृत गर्दै नेता सिटौलाले भने, ‘केही दिनअघि प्रधानमन्त्रीजीले मेलाई बोलाउनु भएको थियो । भेटमा एमसीसी पनि पास गर्नका लागि कार्यव्यवस्था बसेर निर्णय गर्ने भन्नुभएको थियो । अचानक संसद् अन्त्य गरिदिनुभयो । मलाई यसमा आश्चर्य लागेको छ ।’ मुलुक कतातिर जान लाग्यो भन्नेबार छलफल विपक्षी दलका नेताहरु गम्भीर बनेको सिटौलाले बताए । उनले भने, ‘नेकपाको आन्तरिक सत्ता सङ्घर्ष, झगडाले मुलुकको राजनीति कतातिर लैजाँदैछ भनेर छलफल भयो ।’ यस्तो अवस्थामा प्रतिपक्षी छलफलमा बस्नु स्वाभाविक भएको सिटौलाको बुझाइ छ ।नेकपाको सत्ता सङ्घर्षमा एकअर्काको विचार बुझ्न खोजिएको थियो । 

यसमा काँग्रेस र जसपा निरपेक्ष रहेको साझा मत प्रकट भएको छ ।उनले भने, ‘अब प्रधानमन्त्रीको कदम कस्तो रहन्छ, त्यहीअनुसार प्रतिपक्षी एक्सनमा जान्छ । सरकार जनताप्रति जिम्मेवार देखिएको छैन । नेपालीले धेरै दुःख पाउने भयौँ । थप छलफलका लागि फेरि बस्ने सहमति भएको थियो ।’
देउवाका स्वकीय सचिव भानु देउवाले अर्को छलफलबारे अहिलेसम्म कुनै तयारी नभएको बताए । अब नेकपा विवाद वार–पार भएपछि मात्र काँग्रेस र जसपाबीच छलफल हुने बुझिएको छ ।जसपाले संसदको विशेष अधिवेशन बोलाउन जोड गरे पनि नेकपाको विवादका बीच बैठक बेलाउँदा गलत सन्देश जानेमा काँग्रेस सचेत देखिएको छ । अहिले विशेष अधिवेशन नबोलाइदिन नेकपा उपनेता सुवासचन्द्र नेम्वाङले गरेको आग्रहका कारण पनि काँग्रेस निर्णयमा पुग्न सकेको छैन ।