प्यूठान,बाहिरी जिल्लाबाट आयात हुने कुखुरा तथा अण्डाजन्य उत्पादनमा अस्थायी रूपमा रोक लगाउने निर्णय गरिएको छ। जिल्ला स्तरीय बर्ड फ्लु नियन्त्रण समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
देशका विभिन्न स्थानमा बर्ड फ्लु संक्रमण देखिन थालेपछि सतर्कता अपनाउँदै १५ दिनका लागि आयातमा रोक लगाइएको समितिका सदस्य सचिव तथा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानका प्रमुख विनोद शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार १५ दिनपछि अवस्था मूल्यांकन गरी आवश्यक निर्णय लिइनेछ।
बैठकले जिल्लाभित्रका कुखुरापालक व्यवसायीलाई आफ्ना फर्ममा अनिवार्य रूपमा जैविक सुरक्षा मापदण्ड अपनाउन निर्देशन दिने निर्णय समेत गरेको छ। यस अवधिमा कुखुरा तथा अण्डाको मूल्य कृत्रिम रूपमा बढाउन नदिने र त्यसो गरेको पाइएमा कारबाही गरिने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंको संयोजकत्वमा रहेको उक्त समितिको बैठकमा जिल्लाका विभिन्न सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्