प्युठान,नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्र विक्रम चन्द (बिप्लव)ले सरकारले कम्युन मोडलअन्तर्गत उत्पादन गरिएको आलुलाई “बम”को संज्ञा दिँदै आफ्नो पार्टीलाई निर्वाचन प्रक्रियाबाट बाहिर राख्ने प्रयास गरेको आरोप लगाएका छन्।
प्युठानको बिजुवारस्थित मित्रमणी आचार्यको सालिकमा माल्यार्पणपछि आयोजित जिल्लास्तरीय राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनमा गरिएको कृषि उत्पादन कार्यक्रमलाई नियोजित रूपमा बदनाम गरिएको दाबी गरे। “उत्पादनलाई अपराध सँग जोड्नु लोकतान्त्रिक मूल्य र नागरिक स्वतन्त्रताविरुद्धको कदम हो,”उनले भने।
राज्य–पार्टी सम्बन्धको पृष्ठभूमि नेपालको राजनीतिक इतिहासमा राज्य संयन्त्र र क्रान्तिकारी धारका राजनीतिक समूहबीच अविश्वासको सम्बन्ध रहँदै आएको विश्लेषण गरिन्छ। बिप्लव नेतृत्वको धार शान्तिपूर्ण राजनीतिक प्रक्रियामा सहभागी भइसके पनि विगतका घटनाक्रमका कारण सुरक्षा संयन्त्रले विशेष निगरानी राख्ने गरेको चर्चा छ। यही सन्दर्भमा आएको ‘आलु–बम’ सम्बन्धी अभिव्यक्तिलाई कतिपयले राजनीतिक सन्देशका रूपमा पनि अर्थ्याएका छन्।
पार्टीका अनुसार कम्युनमा गरिएको सामूहिक खेतीले स्थानीयस्तरमा रोजगारी सिर्जना गरेको,युवालाई गाउँमै टिकाउने प्रयास गरेको तथा आत्मनिर्भरता बढाएको छ। कृषि उत्पादनलाई नारामुखी राजनीतिभन्दा व्यवहारिक कार्यक्रमका रूपमा अघि सारिएको दाबी गरिएको छ। यदि उक्त कार्यक्रमलाई सुरक्षा चुनौतीका रूपमा चित्रित गरिएको हो भने त्यसको स्पष्ट आधार सार्वजनिक गर्नुपर्ने माग पनि पार्टीले राखेको छ।
प्रतिक्रिया राख्नुहोस्