प्युठान,मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले आफ्नो संगठनात्मक उपस्थितिलाई थप मजबुत बनाउने क्रम तीव्र बनाएको छ। यही सन्दर्भमा शुक्रबार सम्पन्न गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला केवल औपचारिक कार्यक्रममै सीमित नरही राजनीतिक दिशानिर्देश र संगठन विस्तारको साझा प्रतिबद्धताका रूपमा देखिएको छ।
भेलाको अध्यक्षता राष्ट्रिय जनमोर्चा जिल्ला समिति सदस्य तथा मल्लरानी गाउँपालिका अध्यक्ष गुणेन्द्र बहादुर बस्नेतले गर्नुभएको थियो। भेलामा उपस्थित नेता तथा कार्यकर्ताहरूले संगठनलाई जनताका दैनिक समस्या र स्थानीय आवश्यकता सँग जोडेर अघि बढाउने विषयमा एकमत जनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले मुलुकको समसामयिक राजनीतिक अवस्था,गणतन्त्रको वर्तमान अवस्था तथा वाम आन्दोलनका चुनौतीमाथि आफ्नो धारणा राख्नुभयो। उहाँले सिद्धान्तनिष्ठ,जनमुखी र भ्रष्टाचारविरोधी राजनीतिको आवश्यकता औंल्याउँदै राष्ट्रिय जनमोर्चाले त्यस दिशामा अझ सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो।
भेलामा लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर के.सी र राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य कृष्ण बहादुर खड्का विशेष अतिथिका रूपमा सहभागी रहनुभएको थियो।उहाँहरूले संगठन विस्तारसँगै कार्यकर्ताको राजनीतिक प्रशिक्षण,अनुशासन र निरन्तर जनसम्पर्कलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
युवा तथा जनवर्गीय संगठनहरूको सक्रिय सहभागिताले भेलालाई थप बहुआयामिक बनाएको थियो। अनेरास्ववियु (छैठौं)का अध्यक्ष शुभास जि.सि ले युवाहरूको भूमिकाबारे बोल्दै संगठनभित्र नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।नेकपा(मसाल) का जिल्ला प्रवक्ता राम पहाडीले प्रचार–प्रसारलाई तथ्यपरक,जिम्मेवार र जनमैत्री बनाउनुपर्ने सुझाव दिनुभयो।जनजाति सम्मेलनका केन्द्रीय महासचिव अमरध्वज रानाले समावेशी राजनीति र आदिवासी जनजाति समुदायका सवाललाई संगठनको मूल एजेन्डामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
भेलाको ठोस उपलब्धिका रूपमा १५१ सदस्यीय चुनाव प्रचार–प्रसार समिति गठन गरिएको छ जसको अध्यक्षतामा गुणेन्द्र बहादुर बस्नेत चयन हुनुभएको छ। यससँगै गठन गरिएको ७ सदस्यीय चुनाव परिचालन समितिको संयोजकमा अमरध्वज राना चयन हुनुभएको छ। संयोजक रानाले घरदैलो अभियान,टोलस्तरीय भेला,राजनीतिक प्रशिक्षण तथा जनसम्पर्क कार्यक्रम सञ्चालन गरिने कार्ययोजना प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको प्रारम्भमा डोरप्रसाद पोख्रेलले स्वागत मन्तव्य राख्दै भेलाको उद्देश्य र सन्दर्भ स्पष्ट पार्नुभएको थियो भने सम्पूर्ण कार्यक्रमको सञ्चालन दुर्गा थापाले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्