स्वच्छ निर्वाचनको साझा संकल्प : प्युठानका सबै दल एक ठाउँमा

राम बहादुर बिश्वकर्मा
प्युठान,आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन प्युठानका सबै राजनीतिक दलले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन्। निर्वाचनलाई शान्तिपूर्ण,मर्यादित र विश्वासयोग्य बनाउने साझा लक्ष्यसहित जिल्लाका राजनीतिक दलहरू एकै ठाउँमा उभिएका हुन्।
मुख्य निर्वाचन कार्यालय प्युठानले मंगलबार जिल्ला सदरमुकाम खलगाँमा आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरूले आचारसंहिता पालना गर्ने लिखित तथा मौखिक प्रतिबद्धता व्यक्त गरेका छन्। बैठकमा निर्वाचनका क्रममा देखिन सक्ने सम्भावित उल्लंघनका विषयमा समेत गम्भीर छलफल गरिएको थियो।
विशेषगरी गालीगलौज,हेटस्पिच,भ्रामक सूचना प्रवाह तथा सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचनको वातावरण बिगार्न सक्ने भन्दै त्यसतर्फ सबै दल सचेत रहने सहमति जनाइएको छ। यस्ता गतिविधि भएमा तत्काल रोकथाम गर्ने र आवश्यक परे कडा कारबाही सुनिश्चित गर्न सहयोग गर्ने प्रतिबद्धता पनि दलहरूले व्यक्त गरेका छन्।
मुख्य निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिता कानुनी बाध्यता मात्र नभई लोकतन्त्रको मर्यादा र जनताको विश्वास कायम राख्ने आधार भएको उल्लेख गरेको छ। निष्पक्ष प्रतिस्पर्धा र मतदाताको स्वतन्त्र निर्णय सुनिश्चित गर्न सबै पक्षको जिम्मेवार भूमिका अपरिहार्य रहेको बताउँदै मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश हिरण्यकुमार भण्डारीले दलहरूको सहकार्यलाई सकारात्मक संकेतका रूपमा लिनुपर्ने बताउनुभयो।