राम बहादुर बिश्वकर्मा
प्युठान,गाउँमाथि उषाकिरण फैलिन थालेसँगै झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलको दैनिकी पनि चलायमान हुन्छ। धेरैका लागि बिहान चिया र पत्रपत्रिकाको समय हो,तर पोख्रेलका लागि यो घडी जनताको पीडा सुन्ने समय हो।मोबाइल हातमा लिएर उनी गाउँघरको हालखबर बुझ्न थाल्छन्-कहाँ कसलाई समस्या परेको छ,कसरी सहयोग गर्न सकिन्छ भन्ने खोजीमा।
कतै मृत्युको खबर आउँछ,कतै अशक्त,अपाङ्ग वा उपचार अभावमा जीवन–मरणको दोसाँधमा पुगेका नागरिकको सूचना। यस्ता खबर पाउनासाथ उनी समय कुर्दैनन्।कहिले खाद्यान्न,कहिले आर्थिक सहयोग त कहिले आश्वासन र हौसला बोकेर उनी पीडितको ढोकामा पुग्छन्।
झिमरुकका धेरै नागरिक भन्छन्,“समस्या पर्दा पहिला प्रमोद सरकै सम्झना आउँछ।”
किनभने उनी आश्वासन मात्र दिँदैनन्, समाधान खोज्छन्। उपचार खर्च नपुगेर थला परेका नागरिकलाई उनी स्वयं अस्पतालसम्म पुर्याउँछन्। अस्पतालका कागजात मिलाउनेदेखि रगतको व्यवस्था,औषधि किन्नेदेखि बस्ने ठाउँ मिलाउनेसम्म उनी सक्रिय देखिन्छन्।
उपाध्यक्ष भएपछि पनि उनको दिनचर्या औपचारिकतामा सीमित छैन। बिहान गाउँ,दिउँसो कार्यालय,साँझ फेरि गाउँ-यही लयमा उनको जीवन चल्छ। कहिलेकाहीँ रात परिसक्दा पनि फोन बजिरहन्छ।
“राति फोन आउँदा अफ्ठ्यारो लाग्दैन?” भन्ने प्रश्नमा उनी सहजै भन्छन्,“पीडाको समय हेर्दैन। म कसरी समयको बहाना बनाऊँ?”
कतिपय अवस्थामा उनी आफैँ आर्थिक रूपमा सकसमा पर्छन्।सबै सहयोग आफ्नै बलबुताले सम्भव हुँदैन। तर उनी निराश हुँदैनन्। फोन गर्छन्, सामाजिक सञ्जालमा लेख्छन्,फेसबुक लाइभमा जान्छन्।पीडितको वास्तविक अवस्था फोटो र भिडियोमार्फत सार्वजनिक गर्दै सहयोगको अपिल गर्छन्।
“यो राजनीति होइन, मानवीयताको सवाल हो,” उनी भन्छन्।“मेरो पहुँच ठूलो छैन,तर सत्य कुरा राख्दा मानिसको मन छोइन्छ।”
उनको यो विश्वासले काम गर्छ। कसैले ५ सय पठाउँछ, कसैले ५ हजार, कसैले औषधि किनिदिन्छ। सानो–सानो सहयोग मिलेर ठूलो राहत बन्छ।
तर लोकप्रियतासँगै बोझ पनि आउँछ। प्रशंसा सधैँ सहज हुँदैन भन्ने कुरा पोख्रेललाई थाहा छ। आज प्रशंसा गर्नेहरूले भोलि प्रश्न गर्न सक्छन्। तर उनी त्यसबाट डराउँदैनन्।
“म आलोचना सुन्न तयार छु,” उनी भन्छन्,“तर पीडितलाई बेवास्ता गरेर राम्रो देखिन चाहन्नँ।”
कतिपयले आलोचना गर्छन्-“किन फोटो हाल्नुहुन्छ?”
उनी शान्त स्वरमा जवाफ दिन्छन्,“यदि फोटोले कसैको जीवन बच्छ भने,त्यो गलत कसरी हुन्छ?”
उनका पोस्ट र लाइभपछि कतै उपचार सम्भव हुन्छ,कतै बच्चाको स्कुल फिर्ता सुरु हुन्छ, कतै परिवारले भोकै सुत्नुपर्दैन। यस्ता सयौँ साना–ठूला कथाहरू झिमरुकमा घुमिरहेका छन्,जसको केन्द्रमा प्रमोद पोख्रेल देखिन्छन्।
कतिपयले भन्छन्-यसरी व्यक्तिगत रूपमा सक्रिय हुँदा राज्य कमजोर देखिन्छ। पोख्रेल यसमा आंशिक सहमत छन्।“हो,प्रणाली बलियो हुनुपर्छ,”उनी भन्छन्,
“तर प्रणाली बलियो बनाउने काम पनि मानिसले नै गर्छन्। आज मानिस बचेन भने भोलिको प्रणाली कसका लागि?”
उनको राजनीतिक दर्शन सरल छ-जनप्रतिनिधि पार्टीको होइन,जनताको हुनुपर्छ। त्यसैले उनी कार्यक्रममा अगाडि बस्नभन्दा पछाडि बसेर सुन्न रुचाउँछन्। भाषणमा ‘म’ भन्दा ‘हामी’ बढी प्रयोग गर्छन्। चुनाव जितेको वर्षौँ भइसक्दा पनि आफूलाई ‘सेवक’ भन्न रुचाउँछन्।
कसैले भन्छ-“हामीले त उहाँलाई भोट पनि दिएका होइनौँ।”पोख्रेल स्पष्ट छन्-“ईच्छाएको उमेदवारलाई भोट दिनु वा नदिनु नागरिकको अधिकार हो।मलाई कसले भोट दियो भनेर छुट्याउने सोच मसँग छैन। उपाध्यक्षमा जिताउँदा सबै नागरिकले जिताउनुभएको हो।”
ग्रामीण परिवेशमै जन्मिएका पोख्रेलले गरिबी नजिकबाट भोगेका छन्। बाल्यकालमा तरकारीका बोरा बोकेर विद्यालय जानु,भटमास,उसनेको आलु,कोदोको रोटि र भुटेको मकै खाएर भोक मेट्नु उनका लागि सामान्य अनुभव हुन्।
“मैले दुःख देखेर होइन, दुःख भोगेरै आएको हुँ,” उनी भन्छन्,“त्यसैले गरिबी र पीडा के हो भन्ने बुझाउन मलाई कसैले पढाउनुपर्दैन।”
यही अनुभूतिले उनलाई नम्र बनाएको छ। उपाध्यक्ष भए पनि उनको व्यवहार उस्तै छ-बालकदेखी वृद्ध सम्म किसान,मजदुर वा कर्मचारी सबैप्रति समान सम्मान। यही कारण उनी जनतामाझ ‘हाम्रै मान्छे’ बनेका छन्।
पत्रकारिताबाट सामाजिक सेवामा उदाएका पोख्रेल २०७९ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्ष बने। पद बदलिए पनि स्वभाव बद्लिएको छैन। सधैँ हँसिलो मुहार,मीठो बोली र सेवाभाव-न घमण्ड,न अहंकार।
प्रमोद पोख्रेलको कथा यहाँ सकिँदैन।किनकि यो उपलब्धिको सूची होइन,निरन्तर चलिरहेको यात्राको बयान हो।
आज पनि झिमरुकमा कसैको घरमा समस्या पर्न सक्छ।आज पनि कुनै आमालाई औषधि चाहिन सक्छ।आज पनि कुनै बालकको पढाइ पैसाकै कारण रोकिन सक्छ।
र आज पनि मिरमिरे उज्यालोसँगै एउटा फोन बज्न सक्छ-“सर, गाह्रो पर्यो।”अर्को छेउबाट आउने उत्तर उही हुन्छ-“म आउँछु।”
यही वाक्यमा अडिएको छ,प्रमोद पोख्रेलको राजनीति।
प्रतिक्रिया राख्नुहोस्