"सन्ताेष" बचाउने भन्दै उपचारमा हिडे  प्रमाेद पाेखरेल

राम बहादुर बिश्वकर्मा 
प्युठान,राजनीति प्रायः सत्ता,शक्ति र वाचा–प्रतिवाचासँग जोडिएर हेरिन्छ। तर जब कुनै जनप्रतिनिधिले पीडामा परेको नागरिकको दुःखलाई आफ्नै दुःख ठान्छ,तब राजनीति मानवीय सेवाको सर्वोच्च उदाहरण बन्छ। झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले मृगौला पीडित सन्तोष बि.क को उपचारका लागि देखाएको पहल यतिबेला यही मानवीय राजनीतिका रूपमा स्थापित हुँदै गएको छ।
झिमरुक गाउँपालिका ७ कुता निवासी २७ बर्षिय सन्तोष बि.क लामो समयदेखि मृगौला रोगबाट पीडित छन्। नियमित उपचार,औषधि सेवन र डायलाइसिस उनका लागि दैनिकी जस्तै बनेको थियो। चिकित्सकहरूले मृगौला प्रत्यारोपण नै दीर्घकालीन समाधान हुने बताए पनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचार प्रक्रिया अघि बढ्न सकेको थिएन। दिनप्रतिदिन बिग्रँदो स्वास्थ्य अवस्था र भविष्यप्रतिको अनिश्चितताले सन्तोष र उनका परिवारलाई गहिरो मानसिक तथा शारीरिक पीडामा पारेको थियो।
सन्तोषको अवस्थाबारे जानकारी पाएपछि उपाध्यक्ष प्रमोद पोख्रेल मौन बस्न सकेनन्। राजनीति र समाजसेवामा सक्रिय पोख्रेलले सामाजिक सञ्जालमार्फत सन्तोष बि.क को जीवन बचाउन आर्थिक सहयोगको अपिल गरे। उनको अपिलले समाजका संवेदनशील मनहरूलाई छोयो। गाउँदेखि सहरसम्म,देशदेखि विदेशसम्म रहेका नेपालीहरूले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न थाले।
केही दिनमै सहयोग रकम उल्लेखनीय रूपमा बढ्दै गयो। हालसम्म ८ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ,जसले सन्तोषको उपचार सम्भव हुने आशा जगाएको छ।

उपचार यात्रामा स्वयं जनप्रतिनिधि


सहयोग संकलनमै सीमित नरही उपाध्यक्ष पोख्रेल आफैं उपचार प्रक्रियामा सक्रिय रूपमा संलग्न बनेका छन्। मृगौला प्रत्यारोपणको तयारीका लागि उनी सन्तोष बि.क,उनका बुबा र आमालाई साथ लिएर काठमाडौंतर्फ यात्रा तय गरेका छन्। यो यात्रा केवल अस्पतालसम्म पुग्ने यात्रा मात्र होइन,निराशाबाट जीवनतर्फ, पीडाबाट आशातर्फको यात्रा हो।

जनप्रतिनिधि र जनताको बढ्दो भरोसा


स्थानीय तहका जनप्रतिनिधिबाट देखिएको यस्तो संवेदनशीलता र मानवीय जिम्मेवारीले जनतामा भरोसा बढाएको छ।
“उहाँले पदभन्दा ठूलो मानवता देखाउनुभयो,”स्थानीय एक बासिन्दा भन्छन्, “आज सन्तोषका लागि उठेको आवाज भोलि अरू पीडितहरूका लागि पनि मार्गदर्शन बन्नेछ।”
यद्यपि संकलित रकमले उपचार प्रक्रिया सुरु गर्न सहयोग पुगे पनि मृगौला प्रत्यारोपण,औषधि,परीक्षण तथा पछिल्लो उपचारका लागि अझै ठूलो खर्च आवश्यक पर्ने परिवारले जनाएको छ। त्यसैले सन्तोष बि.क को पूर्ण उपचारका लागि थप आर्थिक तथा नैतिक सहयोगको अपिल गरिएको छ।
सन्तोष बि.क को जीवन बचाउने यो अभियान कुनै एक व्यक्तिको मात्र प्रयास होइन,यो समाजको साझा जिम्मेवारी हो।जब नेतृत्व,समाज र नागरिक एकै ठाउँमा उभिन्छन्, तब असम्भव जस्तो देखिने सपना पनि सम्भव बन्छ।
झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलको यो मानवीय पहलले राजनीति केवल भाषण र नीतिमा सीमित नभई जीवन बचाउने सेवामा पनि केन्द्रित हुन सक्छ भन्ने सशक्त सन्देश दिएको छ। पोख्रेलले यसअघि पनि आफ्नो पहलमा दलित,विपन्न तथा असक्त नागरिकहरूलाई आफूले पाउने सेवा–सुविधाबाट सहयोग गर्दै आएका छन्।