राम बहादुर बिश्वकर्मा
प्युठान,थालीमा प्रसाद,आँगनमा धुप,दैलोमा फुलरङ्गी र हावामा पुर्खाप्रति श्रद्धा मिसिएको गन्ध। पुर्खाप्रति सम्मान र आफ्नै पहिचानसँगको गहिरो नातो बोकेको धनञ्जय गोत्रीय भण्डारीहरूको कुल पूजा नजिकिँदैछ।
कुल पूजा केवल धार्मिक अनुष्ठान मात्र होइन;यो सांस्कृतिक सम्पदा जोगाउने,सामुदायिक एकता सुदृढ बनाउने र पहिचानलाई आत्मसात् गर्ने प्रतीक हो। ५ बर्षको अन्तरमा भव्य रूपमा मनाइने यस पूजालाई यसपटक समावेशी संरचना र व्यवस्थित व्यवस्थापनका साथ अगाडि बढाउने तयारी भइरहेको छ।
सयौं वर्षअघि आरम्भ भएको यो परम्परा आज पनि ऊर्जा र उत्साहका साथ निरन्तर भइरहेको छ। पुर्खालाई सम्झने यो पूजा केवल धार्मिकतामा सीमित छैन–यो इतिहास,सम्मान र सामाजिक मूल्यमान्यताको जीवित प्रमाण हो।
जहाँ बसे पनि,चाहे कामकाजमा,राजनीति वा विदेशका व्यस्ततामा,भण्डारी बन्धुहरूलाई एक वर्षमा एकपटक आफ्नै माटो,पुर्खा र परम्परा सम्झिन बाध्य बनाउने शक्ति यस पूजामा छ।
यसपटक पूजाको सम्पूर्ण व्यवस्थापनमा मातृशक्ति परिचालन समितिले अगुवाई लिएको छ।
समितिले पूजा स्थल र आसपासका बस्तीलाई सफा राख्न नियमित सरसफाइ अभियान सुरु गरेको छ।
साथै,पूजाको पवित्रता बिगार्न सक्ने मदिराजन्य बस्तुहरूको अनियन्त्रित प्रयोग तथा बिक्री वितरणलाई नियन्त्रण गर्न नियन्त्रण समिति सक्रिय छ। यसका लागि वडा कार्यालय र स्थानीय प्रहरीप्रति समन्वय र सूचनासमेत गरिनेछ।
“पूजा पवित्र छ,त्यसैले यसको व्यवस्थापन पनि पवित्र र अनुशासित हुनैपर्छ,”–भन्छिन् समिति अध्यक्ष अमृता भण्डारी।
गाउँका युवादेखि बाहिर बस्ने भण्डारी छोराछोरीसम्म सबैले सामाजिक सञ्जाल र समुदायगत अभियानमार्फत सक्रिय सहभागिता जनाइरहेका छन्।
स्वेच्छिक श्रमदान,पालो प्रणाली,खाना पकाउने र स्वागत व्यवस्थापनमा युवाहरूको भूमिका उल्लेखनीय बन्दैछ।अब पूजा केवल परम्परा होइन,सीप विकास र सहकार्यको सामूहिक अभ्यास पनि बनिसकेको छ।
मंसिर ११ र १२ गते लुप्लुङ्गको शान्त पहाड र खुला आकाशमुनि आयोजना हुने यो पूजा केवल धार्मिक विधि होइन-यो कुल,संस्कार र विश्वासको सांस्कृतिक महोत्सव हो।
विदेशबाट फर्किएका चेली-बेटी,व्यवसायमा सफल दाजुभाइ, र अझै शिक्षा हासिल गरिरहेका युवा सबैले एउटै भावना बोकेका छन्:“कसरी यो परम्परालाई अझ समृद्ध बनाउने?कसरी आफ्ना जरा नबसाल्ने?”
कुल पूजा एक दिनको घटना होइन-यो नाता,संस्कार र सामूहिक पहिचान जोगाउने अविराम अभ्यास हो।
नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष श्रीराम भण्डारी भन्छन्,“समितिहरूको सक्रियता,मातृशक्तिको नेतृत्व,युवाहरूको सहभागिता र पुर्खाप्रति श्रद्धा–यी सबैले मिलेर यस वर्षको कुल पूजालाई प्रेरणादायी र ऐतिहासिक बनाउने संकेत गरिसकेको छ।”
प्रतिक्रिया राख्नुहोस्