जनताको मनमा बसेको एमालेलाई कुनै षड्यन्त्रले रोक्न सक्दैन: सूर्य थापा

जनताको मनमा बसेको एमालेलाई कुनै षड्यन्त्रले रोक्न सक्दैन: सूर्य थापा

राम बहादुर बिश्वकर्मा
प्युठान,नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा प्युठान इन्चार्ज सूर्य थापाले जनताको मन र चेतनामा एमाले गहिरोसँग स्थापित रहेको बताउँदै जनताको नैतिक बल र समर्थनका आधारमा कुनै पनि प्रतिकूल परिस्थिति,प्रतिक्रमणकारी तत्व तथा वैदेशिक हस्तक्षेपलाई परास्त गर्ने क्षमतामा एमाले सक्षम रहेको दाबी गर्नुभएको छ।
प्युठानमा आयोजित सद्भाव र्याली तथा जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भन्नुभयो,“एमाले कुनै पनि परिस्थिति र चुनौति सामना गर्न तयार छ। हामी जनताको भरोसा बोकेका छौँ। जनताको मन र चेतनामा गहिरोसँग बसेको हाम्रो संस्कार,सिद्धान्त र संगठन नै हाम्रो ठूलो शक्ति हो।”
उहाँले पार्टीविरुद्ध भयरहित रूपमा विभिन्न कोणबाट हमला र षड्यन्त्र भइरहे पनि पार्टीको जनसंगठन र राजनीतिक क्षमता अझ मजबुत हुँदै गएको उल्लेख गर्नुभयो।
थापाले थप भन्नुभयो, “एमाले जनताको पार्टी हो। जनताको मुठ्ठीबल र साथले हामीले प्रतिकूलताका हरेक पर्खाल भत्काएका छौँ। देशविरोधी कुनै पनि षड्यन्त्रलाई जनताकै विश्वास र निर्णयले परास्त गर्छौँ। जस्तोसुकै विदेशी हस्तक्षेप होस्-एमाले जनताको नैतिक बल र राजनीतिक समर्पणमा मजबुत छ। देश विरोधी तत्वहरूलाई जनताको मतदान र चेतनाले नै हराउनेछ।”
उहाँका अनुसार,नेकपा (एमाले) ले राष्ट्रियता,समृद्धि र सामाजिक न्यायका पक्षमा लामो समयदेखि अग्रसर भूमिका निर्वाह गर्दै आएको छ। पार्टीको मूलभूत सिद्धान्तलाई जोगाउँदै जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता एमालेको निरन्तर अडान रहेको थापाले दोहोर्‍याउनुभयो।
यसै क्रममा,थापाले जेन्जीको नाममा भदौ २३ र २४ गते  नेकपा (एमाले) को पार्टी कार्यालयमा गरिएको आगजनीप्रति गम्भीर खेद व्यक्त गर्नुभयो। उहाँले यस्तो आपराधिक व्यवहार जनताको अधिकार र लोकतान्त्रिक मूल्यप्रति खुला चुनौती भएको भन्दै,घटनामा संलग्नहरूलाई आम रुपमा माफी माग्नुपर्ने बताउनुभयो।
थापाले आगजनी गर्ने व्यक्तिहरूको तस्बिर र भिडियो फुटेज आफुहरु सँग सुरक्षित रहेको जानकारी गराउँदै,“यस घटनामा संलग्न जो कोही हुन्,उनीहरू कानूनको दायराबाट बच्न सक्दैनन्। हामीसँग प्रमाण छ र अपराधीहरूको पहिचान स्पष्ट हुँदै जानेछ,”भन्नुभयो।
उहाँले पार्टी कार्यालय जस्तो जनसम्पर्क र संगठनात्मक केन्द्रमा आगो लगाउने कार्य कुनै राजनीतिक प्रतिस्पर्धाको सीमाभन्दा बाहिरको अपराध भएको र यसले विधिको शासन र राजनीतिक मर्यादामाथि खतरा देखाएको टिप्पणी पनि गर्नुभयो।
यो सद्भाव र्याली प्युठान नगरपालिका–१,बेलुवाबाट सयौँको सहभागितामा सुरु भई खलंगा बसपार्क पुगेर कोणसभामा परिणत भएको थियो।
कार्यक्रमकै क्रममा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य हरि प्रसाद रिजाल,जिल्ला अध्यक्ष विजयविराज बिष्ट,उप-सचिब इश्वरा आचार्य,अनेरास्ववियु केन्द्रीय सदस्य टेकराज के.सी. लगायतले पनि सम्बोधन गर्नुभएको थियो।