प्युठान,मुलुकमा शान्ति,स्थायित्व र लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्नका लागि निर्धारित समयमै निर्वाचन सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिलाई सत्ताको हस्तान्तरण गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन्।
शनिबार जुम्री स्थित होटल व्यवसायी संघ प्युठानको सभाहलमा आयोजित बडा दशैँ तथा शुभ दीपावलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।
प्रेस चौतारी नेपाल,जिल्ला शाखा प्युठानद्वारा कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले देशको पछिल्लो राजनीतिक अवस्था,बढ्दो अन्योलता र राष्ट्रियताको विषयमा गम्भीर चिन्ता व्यक्त गरे। उनीहरूले राजनीतिक दलहरूले विगतमा गरेका गल्ती तथा कमजोरीका कारण अहिलेको जटिल परिस्थिति उत्पन्न भएको भन्दै,अब ती गल्तीहरू दोहोरिन नदिन सचेत हुनुपर्ने धारणा राखे।
कतिपय वक्ताहरूले देशमा अराजकता निम्त्याउन भित्री र बाह्य तत्वहरू सक्रिय रहेको दाबी गर्दै,दलविहीन राज्य बनाउने षड्यन्त्रमा विदेशी शक्तिको संलग्नता रहेको आरोप पनि लगाए।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तुल्सीराम शर्मा र नीमा गिरी,प्रमुख राजनीतिक दलका जिल्ला प्रतिनिधिहरू,विभिन्न स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकाय,सरकारी तथा गैरसरकारी संघ-संस्थाका प्रतिनिधि,पत्रकार महासंघ तथा विभिन्न पत्रकार संगठनका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले चाडपर्वको अवसरमा एक-अर्कासँग शुभकामना आदानप्रदान गर्दै,चौतारीले यस्तो विषम परिस्थितिमा पनि सद्भाव कायम गर्न यस्तो कार्यक्रम आयोजना गर्नु सकारात्मक पहल भएकोमा आभार व्यक्त गरेका थिए।कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष बासुदेव गिरीले गर्नुभएको थियो भने स्वागत पूर्व अध्यक्ष विजय सिंह भारतीले गर्नुभएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष राम बहादुर विश्वकर्माले गरेका थिए।
प्रतिक्रिया राख्नुहोस्