सहकारी शिक्षा कार्यक्रमलाई तीव्रता दिदै बहुमुखी सहकारी 

राम बहादुर बिश्वकर्मा 
प्युठान,प्युठान नगरपालिका-१० मरन्ठाना स्थित बहुमुखी बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा कार्यक्रमलाई तीव्रता दिएको छ।आफ्नो कार्यक्षेत्रमा रहेका विभिन्न ठाउँमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको सहकारीका अध्यक्ष माधब पराजुलीले जानकारी दिनुभयो।
सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिमका माध्यमबाट सहकारीप्रति नागरिकको विश्वास बढाउँदै लैजाने र उहाँहरुको सहभागितालाई विस्तार गर्ने योजना रहेको सहकारी संस्थाका अध्यक्ष पराजुलीले बताउनुभयो।उहाँले भन्नुभयो,‘हामीले सहकारीलाई गरिब नागरिकहरुको बैंकको रुपमा सञ्चालन गरिरहेका छौं । उहाँहरुको बचतलाई सदुपयोग गर्दै ग्रामीण क्षेत्रमै जिविकोपार्जनका क्रियाकलाप सञ्चालन गर्नेहरुलाई ऋण लगानी गरेका छौं।’
पछिल्लो समयमा सहकारीहरु निष्क्रिय भइरहेका बेला बहुमुखी बचत तथा ऋण सहकारी संस्थाले भने आफ्ना गतिविधिहरुलाई सक्रिय बनाएको छ। 
साथै आफ्नो शेयर सदस्यहरुलाई आफुले बचत गरेको पैशा बारे चासो र सहकारीमा बचत गर्दा हुने फाईदाको बारेमा जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको जनाईएको छ ।सहकारीहरुले आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षा दिनुपर्ने प्रावधान पनि रहेको छ। सहकारी शिक्षाको लागि छुट्टै कोष स्थापना गर्नुपर्ने व्यवस्था पनि छ ।
धेरै शेयर सदस्यहरुलाई सहकारीको सात सिद्धान्तको बारेमा जानकारी नहुने भएकाले पनि सहकारी शिक्षा कार्यक्रम आवश्यक पर्ने ब्यबस्थापक मिना के.सि ले बताउनुभयो।
२०६७ सालमा स्थापना भएको बहुमुखी बचत तथा ऋण सहकारी संस्थासँग अहिले ८ सय ९०जना शेयर सदस्य रहेको सहकारीमा करीब २ करोड ६० लाख रुपैयाँ कुल पूँजी रहेको व्यवस्थापक के.सि ले बताउनुभयो।
उहाँका अनुसार सहकारीमा आवद्ध सेयर सदस्यहरुलाई सहकारीको महत्वका बिषयमा जानकारी दिनका लागि सेयर सदस्यलाई उक्त तालिम निकै उपलब्धिपुर्ण हुनेछ। 
स्थानीयस्तरमा सहकारीको महत्व र नागरिकको बित्तिय क्षेत्रमा पहुँच पुर्याउन सहकारीको कारोबारलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन बिगत देखि सहकारी संस्थाले सफ्टवेयरमार्फत कारोबार गरिरहेको बताइएको छ ।

तस्बिर :बहुमुखी बचत तथा ऋण सहकारी सस्थामा आबद्ध सेयर सदस्य लाई प्रशिक्षण गर्नुहुदै प्रशिक्षक ध्रुव जि.सि

सहकारी शिक्षा कार्यक्रमको सहजीकरण सहकारी प्रशिक्षक ध्रुव जि सि गरिरहनु भएको छ।
सहकारी प्रणाली भनेकै सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकासको लागी गरिने सहकार्य भए पनि यसको आर्थिक पक्षलाई मात्र केन्द्रमा राखि सहकारीको मौलिकता गुम्न नदिन शेयर सदस्यहरु लाग्नुपर्ने प्रशिक्षक जि.सि ले बताउनुभयो।  
सहकारी नीति नियमको परिधिमा चल्नुपर्ने,सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने,सहकारी अभियानको भ्रामक प्रचारलाई चिर्दै जानुपर्ने,सहकारीलाई उत्पादन पुँजीमा परिवर्तन गर्न सके समाज परिवर्तन गर्न सकिने उहाँले बताउनुभयो। बढी ब्याजको लोभमा केही सहकारीहरुबाट सदस्य जोखिम पर्ने हुदा त्यसबाट बच्न संस्थामा प्रत्यक्ष रुपमा निगरानी बढाउनुपर्ने जरुरी रहेको छ जसको लागि सहकारी शिक्षाबारे पनि बुझन सबैलाई आग्रह गर्नुभयो।