सामाजिक न्याय र समावेशी समृद्धिको बाटोमा प्युठान नगर : एचआईभी कार्यविधि जारी गर्नेमा देशकै पहिलो

सामाजिक न्याय र समावेशी समृद्धिको बाटोमा प्युठान नगर : एचआईभी कार्यविधि जारी गर्नेमा देशकै पहिलो

सिता बि.क
प्युठान,प्युठान नगरपालिकाले एचआईभी संक्रमित र प्रभावित व्यक्तिहरूको जीवन सहज बनाउन देशमै पहिलोपटक विशेष कार्यविधि जारी गरेको छ।
‘एचआईभी संक्रमितलाई समानता,मानव अधिकार संरक्षण र जीविकोपार्जन सहयोगसम्बन्धी कार्यविधि, २०८२’ नाम दिइएको कार्यविधि नगर कार्यपालिकाको असार ३० गतेको बैठकबाट सर्वसम्मत पारित भई नगरप्रमुख विष्णु बहादुर योगीको प्रमाणीकरणपछि जारी भएको हो।कार्यविधिमा संक्रमित तथा प्रभावित व्यक्तिहरूको गरिमा,आत्मसम्मान, स्वास्थ्य सेवा,पोषण,स्वरोजगार, सीप विकास,छात्रवृत्ति,उपचार खर्च सहायता,गोपनीयता र सहभागितामूलक सेवा प्रवाहको व्यवस्था गरिएको छ। साथै,स्थानीय तहबाटै जनचेतना अभिवृद्धि र समावेशी कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।


नगरप्रमुख योगीले कुनै पनि नागरिकले लान्छना र विभेद भोग्न नपरोस् भन्ने उद्देश्यले कार्यविधि जारी गरिएको बताउनुभयो।“सामाजिक न्याय र समावेशी नगर निर्माणतर्फको यो महत्वपूर्ण पाइला हो,“एचआइभी कसरी सर्छ भन्ने विषयमा समुदाय स्तरमा तथ्य र वास्तविक जानकारी नहुँदा संक्रमितहरुलाई गलत ब्यवहार भइरहेको छ,” उहाँले भन्नुभयो “जनप्रतिनिधी, सुरक्षा निकाय, सामाजिक संघ संस्था, स्वास्थ्यकर्मी र सञ्चारकर्मी मार्फत एचआइभी संक्रमितलाई मानवीय ब्यवहार गर्नुपर्ने सन्देश प्रवाह गराउन आवश्यक छ।”समाजमा रहेको लान्छना र भेदभाव हटाउन सके मात्र एचआइभी र यौन रोग भएका लागि समाजमा पुनःस्थापना गर्न सकिने उहाँको भनाई छ।

संक्रमितको संस्था प्युठान प्लसका कार्यक्रम संयोजक तपेन्द्र विकले कार्यविधिको स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयनमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो“यसअघि हेटौंडा नगरपालिकाले एचआईभी एड्स सहयोगसम्बन्धी मापदण्ड बनाएर लागू गरेको थियो। तर,एचआईभी एड्ससम्बन्धी लाञ्छना तथा भेदभाव,नीतिगत व्यवस्था र संक्रमितको समग्र जीवन सहज बनाउने कार्यविधि ल्याउनेमा प्युठान पहिलो हो।,”उहाले भन्नुभयो।
प्युठानमा हाल १८ वर्षमुनिका ७ बालबालिकासहित १४२ जना एचआईभी संक्रमित छन्।तीमध्ये २० जना मात्रै औपचारिक रूपमा नगरपालिकामा पहिचान भएका छन्।
संयोजक वि.क का अनुसार संक्रमितमध्ये धेरैजसो भारतमा मौसमी श्रमिक वा सिकर्मी पेशामा संलग्न छन्।सामाजिक लान्छना र भेदभावका कारण उनीहरू खुला रूपमा व्यवसायमा संलग्न हुन सकेका छैनन्।
प्युठान प्लसले हाल संक्रमित बालबालिकालाई मासिक दुई हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ।